काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि जारी गर्ने भनेको आइपीओ स्थगित भएको छ।
कम्पनीले आज भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भनिएको थियो। तर, हाल मुलुकमा देखिएको विषम परिस्थितलाई ध्यानमा राखेर कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको कम्पनीले जानकारी गराएको छ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गर्न लागेको थियो। हाललाई निष्कासन प्रक्रिया स्थगित भएको छ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

















