IME Life New

विदेशी मुद्रा सटहीको सिफारिस माग्दा बीमकका सीईओको हस्ताक्षर अनिवार्य, अन्य व्यवस्था यस्ता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ। यो निर्देशन तुरुन्तै प्रारम्भ हुने प्राधिकरणले जनाएको छ।

बीमकले पुनर्बीमा, रेट्रोसेसन, विदेशबाट आयात गर्ने परामर्श सेवाबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ। केही समयपहिले नेपाल राष्ट्र बैंकले पनि बीमा कम्पनीहरुले विदेशी मुद्रा सटही सुविधा लिन बीमा प्राधिकरणको सिफारिस अनिवार्य गरेको थियो।

Crest

निर्देशनअनुसार विदेशी मुद्रा सटहीका लागि प्राधिकरणसमक्ष सिफारिस माग्दा बीमकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को हस्ताक्षर अनिवार्य गरिएको छ। बीमकले विदेशी मुद्रा सहटी सिफारिस मागका लागि पेस गरिएका कागजातहरु तथा स्वीकृति पत्र कार्य सम्पन्न भएको मितिले कम्तीमा ५ वर्षसम्मसम्म सुरक्षित राख्नुपर्नेछ।

निर्देशनअनुसार अब बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सीधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासँग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दाबी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिएबापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएरमात्र गर्नु पर्नेछ। बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानुन र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नुपर्नेछ।

यसैगरी बीमकले सिफारिस माग गर्दा भारतको हकमा भारतीय मुद्रामा तथा अन्य मुलुकको हकमा उक्त मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकन डलरमा मात्रै भुक्तानीका लागि सिफारिस माग गर्नुपर्नेछ। बीमकले पुनर्बीमा शुल्कबापत विदेशी मुद्रा सटही सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्साबाहेकको बाँकी जोखिम सतप्रतिशत हस्तान्तरण गरेको आवश्यक विवरण तथा स्वघोषणासहितको सारांश पेस गर्नुपर्ने निर्देशनमार्फत व्यवस्था गरिएको छ।

बीमक सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिसन वा त्यस्तै कुनै छुटहरु पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ। प्राधिकरणले विदेशी मुद्रा सटही सिफारिस गर्दा डेबिट नोट वा बीजक जारी गर्ने सम्बन्धित पुनर्बीमक वा पुनर्बीमा दलाल वा विदेशी सेवाप्रदायक संस्थाको नाममा मात्र गर्नुपर्नेछ।

त्यस्तै सटही सिफारिसका लागि प्राधिकरणमा पेस हुने निवेदनमा बीमकका सीईओले हस्ताक्षर गर्नुपर्नेछ भने सटहीका लागि पेस हुने सबै संलग्न कागजातको प्रतिलिपिमा बीमक वा पुनर्बीमकको छापसहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गर्नुपर्नेछ।

अब बीमकले प्राधिकरणबाट सटही सिफारिस प्राप्त मितिले बाणिज्य बैंकको हकमा १५ दिन र नेपाल राष्ट्र बैंकको हकमा ३० दिनभित्र भुक्तानी गरी सोको निस्सा ३ दिनभित्र प्राधिकरणमा पेस गर्नुपर्नेछ।

उता पुनर्बीमा वा रेट्रोसनबापत विदेशी मुद्रा सटही माग गर्दा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिकाबमोजिम सूचीकरण भएका विदेशी पुनर्बीमक तथा पुनर्बीमा दलाल र सोही निर्देशिकाबमोजिमको रेटिङ प्राप्त पुनर्बीमकका लागिमात्र प्राधिकरण सिफारिस दिनेछ। तर, बीमकको पुनर्बीमा निर्देशिका लागू हुनुपूर्व गरिएको बीमा वा पुनर्बीमा सम्झौतासँग सम्बन्धित रकमको भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस माग गर्न वा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्याउने निर्देशनमा व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS