काठमाडौं । सरकारले आउँदो असोज १ गतेबाट थप ७ वटा यातायात कार्यालयबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने व्यवस्था गर्ने भएको छ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेबाट देशका विभिन्न स्थानमा थप ७ वटा यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने व्यवस्था गरिएको जानकारी गराएको हो। विभागका अनुसार यातायात व्यवस्था कार्यालय धनगढी, कञ्चनपुर, वीरगन्ज, लहान, चितवन, इटहरी र बिर्तामोडबाट असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरिनेछ।
हाल देशका विभिन्न स्थानमा रहेका ९ वटा कार्यालयबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य भइरहेको छ। हाल यातायात व्यवस्था कार्यालय एकान्तकुना (सानाठूला सवारीसाधन), हेटौँडा, गुर्जुधारा, पोखरा, बुटवल, तुलसीपुर, नेपालगन्ज र सुर्खेतबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने व्यवस्था गरिएको छ।
भौतिक योजना तथा यातायात मन्त्रालयले आउँदो असोज १ गतेबाट सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको थियो। तर, यसविरुद्ध व्यापक आलोचना र विरोध भएपछि मन्त्रालयले असोज १ गतेबाट अनिवार्य नभएको र आफ्नो अनुकूल समयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जानकारी गराएको छ।


















