IME Life New

निम्बस ग्रुपले फेरि निकाल्दैछ घाटामा भएको अर्को कम्पनीको आइपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यापारिक प्रतिष्ठान्, निम्बस ग्रुपले कमजोर वित्तीय अवस्थाका कम्पनीहरूमा मात्र सर्वसाधारणको लगानी जुटाउने रणनीति झैं अर्को एउटा कम्पनीको आइपीओ निकाल्ने तयारी गरेको छ।

निम्बस ग्रुपको ४३ प्रतिशत शेयर स्वामित्व रहेको केबि एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेड(केबी एग्रो) को आइपीओ जारी गर्ने तयारी गरेको हो। सञ्चालनको पहिलो वर्ष मुस्किलले सञ्चालन मुनाफा कमाएको यो कम्पनी वित्तीय र व्यवसायीक प्रतिस्पर्धा दुबै हिसाबले निक्कै कमजोर रहेको छ।

Esewa
Crest

आइपीओ निष्काशन प्रयोजनका लागि अनिवार्य हुने भएकाले केबी एग्रोले इस्युअर रेटिङ गराएको हो। इस्युअर रेटिङ जारी गरिएपनि यसको शेयर निष्काशनका लागि आवेदन दर्ता गरिएको कुनै जानकारी नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सार्वजनिक गरेको छैन।

यस्तो छ केबी एग्रोको वित्तीय अवस्थाः

क्रेडिट रेटिङ एजेन्सी, इक्रा नेपालले केबी एग्रोको वित्तीय सबलता मूल्याङ्कनका आधारमा ‘इक्रा एनपि बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। शेयरजारीकर्ता(इस्युअर) का लागि उपलब्ध गराइने यो मूल्याङ्कनले शेयर जारीकर्ताले पूर्व निर्धारित समयमै वित्तीय दायित्वहरू पुरा गर्ने सम्बन्धमा उच्च जोखिमपूर्ण अवस्थालाई जनाउँछ।

इक्रा नेपालका अनुसार, केबी एग्रोको सञ्चालन नाफा १ प्रतिशत मात्र छ। यसमा ह्रासकट्टी, ब्याज, कर लगायतको खर्च कटाउँदा कम्पनी खुद घाटामा रहेको प्रष्ट हुन्छ। यसबाहेक यसको खुद चालू पूँजी र सञ्चालन आम्दानी अनुपात पनि उच्च रहेको छ।

कम्पनीले सञ्चालन पूँजीको खाँचो टार्न बैंकबाट स्वीकृत सीमाको १०९ प्रतिशत उपयोग गरेको छ। कुखुराको प्रशोधित मासु बिक्री गर्ने यो कम्पनीको ४९ प्रतिशत व्यापार जम्मा १० वटा बिक्रेतामा निर्भर छ।

इक्रा नेपालले विज्ञप्तीमा लेखेको छ, अझै पनि सञ्चालनको प्रारम्भिक चरणमा (२०८१ माघबाट शुरू भएको) भएकाले, यो कम्पनीले अझै पनि आफ्नो कार्यसम्पादन स्थिर गर्न सकेको छैन। सञ्चालन नाफा झिनो १ प्रतिशत मात्र छ। यो नाफा दरले अहिलेसम्मको सञ्चालनको सामान्य स्तरलाई इंगित गर्छ।  यसले गर्दा कमजोर वित्तीय भार वहन सूचकहरू (आव २०८१।८२ मा ऋण सेवा अनुपात ०.२ गुणा र कुल ऋण र  ह्रासकट्टी, ब्याज, कर अघिको सञ्चालन नाफा ९७.७ गुणा) मा परिणत भएका छन् । अहिलेसम्म नियमित स्वपूँजी लगानीमार्फत पूँजीगत आवश्यकता पूर्ती गरेको छ।

गत आवको अन्त्यसम्ममा यसको वासलातमा उपलब्ध ८ करोड ५० लाख रूपैयाँ तरलताको उपलब्धताले केही आराम प्रदान गरेको इक्रा नेपालले जानकारी दिएको छ। भावी दिनमा, पर्याप्त कारोबार र सञ्चालन नाफा कमाउन सक्ने क्षमता, साथै आन्तरिक नगद प्रवाहबाट ऋण भुक्तानी क्षमताहरूमा सुधार प्रमुख मूल्याङ्कन संवेदनशीलता रहने इक्रा नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

केबी एग्रोले धादिङमा दैनिक ३२ हजार पंक्षी प्रशोधन क्षमताको प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । यो उद्योगको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिक टन र फ्रिजिङ क्षमता ५०० मेट्रिक टन रहेको छ। ब्लाष्ट फ्रिजिङ प्रविधिमा निरन्तर चीसो हावाको प्रवाहको माध्यमबाट फ्रिजमा राखिएको वस्तु चिस्याइन्छ।

निम्बस ग्रुप अन्तर्गतको घाटा कम्पनीः

केबि एग्रो मात्र नभएर निम्बस ग्रुपको उल्लेख्य स्वामित्व रहेको नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड पनि निरन्तर घाटामा छ। गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार, यो कम्पनी ५ करोड ५८ लाख ७८ हजार रूपैयाँ खुद नोक्सानीमा छ। वेयर हाउजिङ कम्पनीले सर्वसाधारणबाट आइपीओमार्फत १३ करोड ७५ लाख रूपैयाँ पूँजी जुटाएको थियो।

नेपाल वेयर हाउजिङले गरिरहेको कामकै स्वरूपमा युके एड(बेलायती सहयोग नियोग) को अनुदान सहयोगमा के एल दुगड समूहले बाँके बर्दियाका किसानलाई लक्षित गर्दै नेपालगञ्जमा गरेको थियो। तर नेपालको असंगठित कृषी बजारमा यो अवधारणालाई किसान र कृषी बजार दुबैले अपनाएनन् र अन्ततः बन्द गर्न बाध्य भयो।

निम्बस ग्रुपले सन् २०१४ मा २ वर्षभित्र अर्थात सन् २०१६ सम्ममा देशभरमा २०० वटा कृषी केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो। ग्रुपले शुरूवाती चरणमा कालीमाटी, वीरगञ्ज, भरतपुर लगायतका स्थानमा कृषी केन्द्र नामक साना कृषी उपकरण तथा बिउबिजन बिक्री गर्ने पसल सञ्जाल सञ्चालनमा ल्याएपनि अपेक्षित व्यापार गर्न नसकेपछि  अधिकांश बन्द भइसकेका छन्। कालीमाटीको पहिलो पसल भने अझै अस्तित्वमा छ। अहिले यो केन्द्रका सामानहरू स्थानीय भेटरीनरीहरूमार्फत बिक्री गरिरहेको छ।

नाफामा रहेको कम्पनीहरूः

निम्बस होल्डिङ प्राइभेट लिमिटेड अर्थात् निम्बस ग्रुप अन्तर्गत सञ्चालनमा रहेको प्रोबायोटेक, निम्बस नेपाल,  निम्बस इण्टरनेशनल, नेपाल ग्याँस लगायत उद्योग नाफामा भएपनि नाफा कमाई रहेका कम्पनीका लागि यो ग्रुपले अझैसम्म सर्वसाधारणमा आइपीओ जारी गर्न अग्रसरता देखाएको छैन।

न्यू बिजनेश एजका अनुसार, सन् २०२१ मा निम्बस होल्डिङको वार्षिक १३ अर्ब रूपैयाँ बराबरको कारोबार गरेकोमा १ अर्ब रूपैयाँ नाफा आर्जन गरेको थियो।

यो ग्रुप अन्तर्गत पशुपंक्षीको दाना, माछाको दाना, पशुपंक्षीका लागि आवश्यक पर्ने औषधी, खोप, विषादी, बिउ बिजन, पिभिसी बोरा, खाने तेल, खाद्यान्न आयात,प्रशोधन र वितरणसँग सम्बन्धित उद्योग र व्यवसायीक कम्पनीहरू सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS