काठमाडौं । हाल बजार करिब साढे ७ खर्ब रुपैयाँ नगद परिचालन रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को साउनको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार समीक्षा वर्षको साउनमा बजारमा ७ खर्ब ४४ अर्ब ८२ करोड रुपैयाँ नगद परिचालन रहेको छ। अघिल्लो वर्ष २०८१।८२ आर्थिक वर्षको असारमा बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। असारको तुलनामा साउनमा नगद परिचालन घटेको छ।
समीक्षा वर्षमा सरकारी कोषको आकार १७१.३७ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ७० अर्ब ८३ करोड रुपैयाँ थियो। गत वर्ष असारसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँको उचाइमा पुगेको छ।
गत आर्थिक वर्षको असारसम्म राष्ट्र बैंकको रिजर्भमा ७ खर्ब ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको साउनमा रिजर्भमा ७ खर्ब ५२ अर्ब ४९ करोड रुपैयाँ थियो। रिजर्भको आकार बढेको छ।

















