काठमाडौं । शेयर बजारमा प्रायः सबै क्षेत्रको बजार पुँजीकरण बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा २२.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बीमा कम्पनीहरुको बजार पुँजीकरण ५ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर ६ खर्ब ५२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
समीक्षा वर्षमा अवधिमा व्यापार समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। अघिल्लो वर्ष व्यापार समूहको बजार पुँजीकरण १७ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म १२१२.२ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।
यसैगरी अन्य समूहको बजार पुँजीकरण ३९.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष अन्य समूहको कुल बजार पुँजीकरण ३ खर्ब २६ अर्ब २५ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ४ खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
पछिल्लो १ वर्षमा लगानी समूहको बजार पुँजीकरण ३७.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष लगानी समूह बजार पुँजीकरण २ खर्ब ६० अर्ब १९ करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ३ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै पछिल्लो १ वर्षको अवधिमा विकास बैंक ३४ प्रतिशत, जलविद्युत समूहको ३२.९ प्रतिशत, होटलको २५ प्रतिशत, लघुवित्तको ९.६ प्रतिशत र उत्पादन तथा प्रशोधनको १०.१ प्रतिशतले बजार पुँजीकरण बढेको भने वित्त समूहको १.१ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकिङ समूहको बजार पुँजीकरण भने २४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकिङ समूहको बजार पुँजीकरण ९ खर्ब ४३ अर्ब ४० करोड रुपैयाँ रहेकोमा समीक्षा वर्षसम्म बढेर ११ खर्ब ७१ अर्ब १० करोड रुपैयाँ पुगेको छ।
पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण ३१ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष नेप्सेको बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ थियो।
नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २५.१ प्रतिशत, विकास बैंक समूहको ४.७ प्रतिशत, फाइनान्स कम्पनी समूहको १.८ प्रतिशत, लघुवित्त समूहको ८.५ प्रतिशत, बीमा कम्पनी समूहको १४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५.४ प्रतिशत, होटल समूहको २.७ प्रतिशत, व्यापार समूहको ५ प्रतिशत, लगानी समूहको ७.७ प्रतिशत, जलविद्युत समूहको १५.३ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ।

















