IME Life New

एनआईसी एसिया बैंकः लगातार खस्किँदै व्यापार, बोर्डको पेलाइले तनावमा सीईओ न्यौपाने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश वित्तीय सूचकमा कमजोर देखिएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने अचेल अत्याधिक तनावमा देखिन्छन्।

कुनै बेला जोखिम मोल्दै आक्रामक व्यापार गरेका कारण केही वित्तीय सूचकमा अग्रणी देखिएको एनआईसी एसिया बैंकका सीईओ न्यौपानेका लागि अहिले कुर्सीमा बस्नु कि छोड्नुको अवस्था भइदिएको छ। खराब व्यापार प्रदर्शनका कारण सञ्चालक समिति (बोर्ड) अध्यक्ष तुलसीराम अग्रवालसहितबाट बेइज्जतीपूर्ण व्यवहार खेप्नुपरेपछि सीइओ न्यौपाने अचेल बैंकबाट बाहिरिने कि कार्यकालको बाँकी अवधिसम्म थेग्ने भन्ने निर्णय लिनुपर्ने अवस्थामा छन्।

Crest

अन्य बैंकर्ससँगको भेटघाटमा पनि अचेल न्यौपानेको प्रस्तुतिमा दम देखिँदैन। बोर्डको अधिक दबाबका कारण थेग्नै नसक्ने गरी मानसिक तनाव भइरहेको गुनासो गरेको सुनिन्छ। बोर्डको दबाब खेप्न नसकेका न्यौपाने अचेल बिहान कार्यालय समय सुरु हुनुअघि नै नायब सीईओदेखि प्रदेश प्रमुखसम्मलाई भर्चुअल मिटिङमा डाकेर तथानाम भन्न थालेको गुनासो सुनिएको छ। ‘दिनको सुरुआत नै बेइज्जतीपूर्ण अभिव्यक्तिबाट सुरु हुने भएपछि काम गर्ने जोश–जाँगर नै हराएर जान्छ’, पीडित कर्मचारीले गुनासो गर्दै भने, ‘अहिलेको अवस्था आउनुमा हाम्रो मात्र दोष हो वा नीतिगत कमजोरीको परिणाम हो ?’

खराब कर्जा र नोक्सानी व्यवस्थाका कारण एनआईसी एसियाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट वितरणयोग्य मुनाफा उल्लेख्य रुपमा ऋणात्मक छ। बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड १८ लाख रुपैयाँले ऋणात्मक छ।

गत आर्थिक वर्षमा बैंकले १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०।८१ को ७० करोड १४ लाख रुपैयाँको तुलनामा ७६.९७ प्रतिशतले घटी हो। अघिल्लो वर्षमा पनि वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले ऋणात्मक थियो।

लगातार दुई वर्षसम्म बैंकका शेयरधनीले लगानीमा प्रतिफल प्राप्त गर्न नसक्ने भएपछि सञ्चालक समिति सीईओ न्यौपानेसहित उच्च व्यवस्थापनबाट रुष्ट बनेको हो।

वित्तीय स्वास्थ्यलाइ बेवास्ता गर्दै व्यापार वृद्धिका लागि जेसुकै गर्न अग्रसर भएकाले यसको खराब कर्जाको मात्रा अधिक छ। यसका साथै मुनाफा केन्द्रित भएर ग्राहक तथा ऋणीसँग असमान व्यवहार गर्दै आएकाले यो बैंक नकारात्मक पक्षबाट चर्चित छ।

हालै मात्र नेपाल राष्ट्र बैंकले बैंकिङ अनुशासन उल्लंघन गरेको विषयमा एकीकृत निर्देशन, २०७४ को प्रावधान विपरीत ऋणीसँग तोकिएको भन्दा अधिक ब्याज असुल गरेको, कर्जा सम्झौतामा आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख नगरेको र ब्याज दर परिवर्तनको सूचना नदिएको भन्दै बैंकलाई सचेत गराएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि यो बैंकका सञ्चालकहरु तथा तिनका परिवारका सदस्यलाई निक्षेपमा प्रकाशित दरभन्दा बढी ब्याज दिएको पाइएपछि बैंकलाई निर्देशन उल्लंघन गरेको ठहर गर्दै आवश्यक रकम फिर्ता गराइएको थियो। यो विषयमा सीईओ न्यौपाने, अध्यक्ष अग्रवाल र सञ्चालकहरु त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐनअनुसार नसिहतसमेत दिएको थियो।

नियामकीय निरीक्षणका क्रममा ब्याजदर, कर्जा वर्गीकरण, पुँजीकोष, जोखिमभार तथा संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको समेत पालना नगरेको पाइएकोले राष्ट्र बैंकले पुनः फेरि लिखित आदेशमार्फत बैंकलाई कुनै पनि नियमविपरीत गतिविधि नगर्न, सुधारको कार्ययोजना बनाई तुरुन्त लागू गर्न र प्रतिवेदन नियमित रुपमा पेस गर्न निर्देशन दिएको छ।

व्यापार खस्किएपछि एनआईसी एसियाले ठूलो संख्यामा इन्टर्न कामदार कटौती गरिसकेको छ। यसबाहेक घर बहालवापतको खर्च कटौतीका लागि सकेसम्म घर बहाल सम्झौता पुनरावलोकनका लागि घरबेटीलाई दबाब दिने, नभए केही हिस्सा क्षेत्रफल छोडेर सीमित क्षेत्रफलमा कार्यालय सञ्चालन गर्ने रणनीति अपनाएको छ। यसबाहेक कर्मचारीले पाउँदै आएको अतिरिक्त सेवा सुविधा पनि उल्लेख्य कटौती गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS