काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१/ ८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बीमकहरुको नाफा २८ प्रतिशतले घटेको छ । यस समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब १६ करोड ३ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीहरुले ५ अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
सात कम्पनीको नाफा बढ्यो
यस समीक्षा वर्षमा सबैभन्दा धेरै नाफा कमाउने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३ दशमलव ६३ प्रतिशतले धेरै हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको समीक्षा अवधिमा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५ दशमलव ९५ प्रतिशतले धेरै हो । शिखर इन्स्योरेन्सले यस अवधिसम्ममा ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ६६ प्रतिशतले धेरै हो ।
सानिमा जिआइसी इनस्योरेन्सले यस अवधिसम्ममा ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १० दशमलव १३ प्रतिशतले धेरै हो । नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४ दशमलव १८ प्रतिशतले धेरै हो ।
प्रभु इन्स्योरेन्सले यस अवधिमा २१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले धेरै हो । एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९ दशमलव ६६ प्रतिशतले धेरै हो ।
एक कम्पनी घाटामा
समीक्षा वर्षको यस अवधिमा नेशनल इन्स्योरेन्स घाटामा रहेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार ६२ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६ कम्पनीको नाफा घट्यो
यस समीक्षा वर्षमा नेको इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा घटेको छ । यस समीक्षा वर्षमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६ दशमलव ७२ प्रतिशतले कमी हो ।
अघिल्लो वर्षको यसै अवधिमा ६२ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीले यस समीक्षा वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि नाफा घटेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा १२ प्रतिशतले घटेको हो ।
यता, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यस समीक्षा वर्षमा ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा २७ प्रतिशतले घटेको हो ।यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा अघिललो वर्षको तुलनामा १२ प्रतिशतले कमी हो । ओरिएन्टल इनसयोरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले घटेको हो ।

















