काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ मा साढे ७१ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले कुल ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ कमाएका हुन्। अघिल्लो वर्ष २०८०।८१ मा बैंकहरुले कुल ४९ अर्ब ८७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४३.३९ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १६ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ४ वटाको घटेको छ। समीक्षा वर्षमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरको हिसाबले कुमारी बैंक अगाडि रहेको छ।
समीक्षा वर्षमा नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा १५.०१ प्रतिशतले बढेको छ।
समीक्षा वर्षमा दोस्रो धेरै नाफा कमाउनेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब १० करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा ६४.४४ प्रतिशतले बढेको छ।
तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको नाफा १.१० प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा वर्षमा प्रभु बैंकले ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५१ करोड ८ लाख रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ, कृषि विकास बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ, प्राइम बैंकले ४ अर्ब २ करोड ४४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै बैंकको नाफा बढेको छ।
समीक्षा वर्षमा नेपाल बैंक ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा १३१७५.८९ प्रतिशतले बढी हो।
त्यस्तै सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ, एनएमबी बैंकले ३ अर्ब २१ करोड ८७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ र सानिमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा सिद्धार्थ बैंक, एनएमबी बैंक र सानिमा बैंकको नाफा बढ्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने घटेको छ।
गत आर्थिक वर्षमा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४५८२९.०१ प्रतिशतले बढेको हो। यो वृद्धिदर वाणिज्य बैंकहरुमा सबैभन्दा बढी पनि हो।

यसैगरी समीक्षा वर्षमा माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ८० करोड लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले १६ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा माछापुच्छ्रे बैंक र हिमालयन बैंकको नाफा बढ्दा नेपाल एसबीआई बैंक, सिटिजन्स र एनआईसी एसिया बैंकको घटेको छ।
कुन बैंकको लाभांश क्षमता कति ?
गत आर्थिक वर्षको मुनाफाबाट नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये १५ वटा लाभांश बाँड्न सक्ने देखिएको छ भने ४ वटाले वितरण गर्न नसक्ने अवस्था देखिएको छ। एभरेष्ट बैंकले सर्वाधिक लाभांश क्षमता बनाएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सबैभन्दा कम लाभांश क्षमता देखिएको छ।
समीक्षा वर्षका लागि एभरेष्ट बैंकले ३८.२७ प्रतिशत र सानिमा बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत लाभांश देखिँदा नबिलको १७.६४ प्रतिशत, कृषि विकास बैंकको १५.५८ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत, ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.३४ प्रतिशत, नेपाल एसबीआई बैंकको ११.२९ प्रतिशत र एनएमबी बैंकको १०.४० प्रतिशत लाभांश क्षमता देखिएको छ।

यसैगरी माछापुच्छ्रे बैंकले ९.२३ प्रतिशत, सिटिजन्स बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ४.४४ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १.४४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ।

















