IME Life New

गैरजिम्मेवार बन्यो एनआईसी एसिया बैंक, राष्ट्र बैंकको निर्देशन पनि अवज्ञा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक पछिल्ला वर्षहरुमा नियम, पारदर्शिता र सुशासनका मापदण्डलाई निरन्तर बेवास्ता गर्दै अघि बढिरहेको छ। कर्जादाता र निक्षेपकर्ताप्रति उत्तरदायी बन्नुपर्ने बैंकले आफ्नै लाभका लागि नियामक सीमारेखाहरु तोड्दै गैरजिम्मेवार अभ्यासलाई संस्थागत रुपमा दोहोर्याइरहेको देखिएको छ।

बैंकले कर्जा दिँदा ऋणीसँग पारदर्शी सम्झौता नगर्नु, कर्जाको ब्याजदर खुला र स्पष्ट नबुझाउनु, ब्याजदरमा फेरबदल गर्दा सूचना नदिनु र ग्राहकसँग असमान व्यवहार गर्नुजस्ता कार्य एकपछि अर्को दोहोर्याइरहेको पाइन्छ। अझ खतरनाक कुरा त के छ भने बैंकका सञ्चालक, तिनका परिवार र सम्बद्ध संस्थाहरुलाई विशेष लाभ दिँदै अन्य सेवाग्राहीभन्दा बढी ब्याज उपलब्ध गराउने कार्यसमेत बैंकले दोहोर्याएको छ।

Crest

नियमअनुसार मुद्दति खाता खोल्दा निष्पक्षता र समताको सिद्धान्त अपनाउनु पर्नेमा बैंकले कतिपय खाताहरु पुरानो मितिमा खोलेर नियमविपरीत लाभांश प्रदान गरेको पाइएको छ। यसले बैंकको भित्री शासन र नियन्त्रण प्रणाली कमजोर मात्रै होइन नियामक बेवास्ताको प्रतिविम्ब पनि हो।

बैंकले ब्याजदर, कर्जा नोक्सानी व्यवस्थापन, जोखिम भार मूल्यांकनजस्ता संवेदनशील विषयमा समेत लापरबाही गर्दै राष्ट्र बैंकको निर्देशनको अवज्ञा गरिरहेको छ। यस्ता अभ्यासले ग्राहकको हितमा ठेस पुगेको मात्र होइन समग्र बैंकिङ प्रणालीमाथि नै अविश्वास पैदा हुने खतरा बढाएको छ।

यस्ता लगातार गम्भीर लापरबाहीका कारण राष्ट्र बैंकले एनआईसी एसिया बैंकमाथि गत आर्थिक वर्षमा मात्रै दुई पटक कारबाही गरिसकेको छ। पछिल्लो पटक राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ अनुसार ऋणीसँग बढी ब्याज असुल गरेको, कर्जा सम्झौतामा आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख नगरेको, र ब्याजदर परिवर्तनको सूचना नदिएको भन्दै बैंकलाई सचेत गराएको छ।

त्यसअघि गत आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि बैंकका सञ्चालकहरु तथा तिनका परिवारका सदस्यलाई प्रकाशित दरभन्दा बढी ब्याज दिएको पाइएपछि बैंकलाई निर्देशन उल्लंघन गरेको ठहर गर्दै आवश्यक रकम फिर्ता गराइएको थियो। सोही क्रममा प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल र सञ्चालकहरु त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐनअनुसार नसिहत दिइएको थियो।

नियामकीय निरीक्षणका क्रममा ब्याजदर, कर्जा वर्गीकरण, पुँजीकोष, जोखिमभार तथा संस्थागत सुशासन सम्बन्धी निर्देशनहरुको समेत पालना नगरेको पाइएकोले राष्ट्र बैंकले हालै फेरि लिखित आदेशमार्फत बैंकलाई कुनै पनि नियमविपरीत गतिविधि नगर्न, सुधारको कार्ययोजना बनाई तुरुन्त लागू गर्न र प्रतिवेदन नियमित रुपमा पेस गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको चेतावनी र निर्देशन लगातार आइरहेका भए पनि एनआईसी एसिया बैंकले त्यसलाई गम्भीरतापूर्वक नलिएको देखिन्छ। जसले भविष्यमा थप कठोर नियामकीय कारबाहीको आधार तयार गर्न सक्ने जानकारहरु बताउँछन्।

पछिल्लो समय एनआईसी एसिया बैंकको समग्र पफर्मेन्स पनि खस्कँदो छ। जसकारण उसको व्यवसाय विस्तार घटेको छ भने निष्क्रिय कर्जा पनि उच्च छ। विगतमा सीईओ न्यौपानेले मनलाग्दी ढंगले कर्जा वितरण नै गरेकाले अहिले त्यो कर्जा नउठ्दा बैंकमा समस्या बढ्दै गएको हो। सुस्त अर्थतन्त्रको बाहना बनाए पनि एनआईसी एसियाबाट प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले कर्जा र धितोको गुणस्तर नै नहेरी कर्जा बाँडेको आरोप लाग्दै आएको छ।

पछिल्लो समय एनआइसी एसिया बैंकले लिलामीमा मात्रै जोड दिएको देखिन्छ। विगतमा मनलाग्दी बाँडेको कर्जा असुली गर्न नसक्दा धेरै कर्जा खराब बनेका छन्। यसले गर्दा बैंकको गैरबैंकिङ सम्पत्ति पनि बढ्दो छ। बैंकले कर्जा नउठे धमाधम लिलामीको नोटिस पठाउने र जबरजस्ती सम्पत्ति कब्जा गर्ने नीति लिएको छ।

आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्ममा बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा नाफा थियो १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरै रहेकोमा अहिले भारी गिरावट आएको हो। बैंकको निष्क्रिय कर्जा ५.७५ प्रतिशत पुगेको छ। गत वर्षको ३.०८ प्रतिशतबाट झन्डै दोब्बर भएको छ।

वित्तीय सूचकहरुमा पनि अन्य बैंकहरु मध्ये सबैभन्दा कमजोर यस बैंकको सूचक छ। चैत मसान्तसम्म यस बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम १.४१ रुपैयाँ छ। चैत मसान्तसम्म सबैभन्दा कम आरओई पनि यसै बैंकको छ।

एनआईसी एसिया बैंकको १ प्रतिशतभन्दा कम अर्थात ०.७१ प्रतिशत आरओई छ। बैंकको ९० करोड २२ लाख रुपैयाँले विवितरणयोग्य नाफा ऋणात्मक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS