काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ। बैंकले आज वित्तीय विवरण सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न ३० दिनको समय दिएपछि कामना सेवाले दुई दिने वित्तीय विवरण सार्वजनिक गरेको छ। यसअघि चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय २१ दिनको रहेको थियो।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९.१९ प्रतिशतले बढेको छ।
समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँले ऋणात्मक थियो। समीक्षा वर्ष बैंकले १७.३० प्रतिशत लाभांश क्षमता बनाएको छ।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ९८ करोड ६९ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९६ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १.९७ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६० करोड ७४ लाख रुपैयाँ र १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ४१ करोड १२ लाख रुपैयाँ र १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकले ६२ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा वर्षमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.३८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.३६ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.७३ रुपैयाँमा सीमित थियो। पीई रेसियो २७.६९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।
बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीको बीचमा हासिल गरेको हो। ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयका बाबजुद बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो। बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डसमक्ष स्वीकृतिका लागि पेस गरिसकेको छ। देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

















