काठमाडौं । नेपाली बीमा प्राधिकरणमा उजुरीको चाङ लागे पनि फर्छ्यौट प्रक्रिया भने सुस्त देखिएको छ।
प्राधिकरणकै तथ्यांकअनुसार उजुरीको संख्या बढे पनि चालु आर्थिक वर्षको ११ महिना जेठसम्म साढे २२ प्रतिशतमात्रै उजुरी फर्छ्यौट भएको छ। बीमा प्रतिविम्बअनुसार जेठसम्म ४९९ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये ११३ वटामात्रै उजुरी फर्छ्यौट भएका छन्। यो फर्छ्यौट संख्या कुल उजुरीको २२.६५ प्रतिशतमात्रै हो।
प्राधिकरणका अनुसार जेठसम्म अघिल्लो आर्थिक वर्षको बाँकी २८७ वटा, यस वर्ष केन्द्रीय कार्यालयमा परेका १३२ वटा, प्रदेश कार्यालयमा परेका ७७ वटा र पुनरावेदनबाट आएको ३ वटा गरी कुल ४९९ वटा उजुरी छन्। अघिल्लो वर्ष जेठसम्म प्राधिकरणमा कुल ४३७ वटा उजुरी परेका थिए।
यसैगरी चालु आर्थिक वर्षको जेठसम्म कुल उजुरीमध्ये प्राधिकरणले ७७ वटाको फैसला र ३६ वटाको सहमति गरी कुल ११३ वटा उजुरी फर्छ्यौट गरेको छ। अघिल्लो वर्ष जेठसम्म १५० वटा उजुरी फर्छ्यौट गरेको थियो।
प्राधिकरणका अनुसार अब ३८६ वटा उजुरी फ्छ्यौट गर्न बाँकी रहेको छ। यो फर्छ्यौट हुन बाँकी संख्या कुल उजुरीको ७७.३५ प्रतिशत हुन आउँछ।
त्यसो त प्राधिकरणको केन्द्रीय कार्यालय गत जेठ २२ गतेबाट न्यायिक इजलास पनि सञ्चालनमा ल्याएको छ। इजलासले प्राधिकरणमा परेका बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइ गर्दै फर्छ्यौटलाई तीव्रता दिइने उद्देश्य राखिएको छ।

















