काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप पौने ७१ खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ७० खर्ब ७१ अर्ब रुपैयाँ थियो। एकै दिन बैंक तथा वित्तीय संस्थामा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको देखिन्छ।
यसैगरी असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ८० अर्ब रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा कर्जा लगानी २ अर्ब रुपैयाँ बढेको छ।
कर्जा लगानीको तुलनामा निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो घटेको छ। अघिल्लो दिनसम्म सीडी रेसियो ७७.८२ प्रतिशत रहेकोमा असार १४ गते घटेर ७७.७३ प्रतिशत कायम भएको छ।
राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

















