काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी साढे १२ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को वैशाखसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।
चालु आर्थिक वर्षको वैशाखसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ४८ अर्ब १९ करोड ३४ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको वैशाखसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब ७५ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १२.६२ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी ३.७५ प्रतिशतले घटेर १ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ८१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १७.८८ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ३ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वैशाखसम्म बैंकहरुमा नागरिक लगानी कोषको १ खर्ब ११ अर्ब १६ करोड ११ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि ११.६८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष वैशाखसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३८ खर्ब ८१ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४३ खर्ब ३५ अर्ब १९ करोड ७ लाख रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत कम गर्नुपर्ने प्रावधान थियो।

















