काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस शेयरका लागि शेयरमूल्य समायोजन गर्दै रिलायबल नेपाल लाइफको प्रतिकित्ता ४५२.६७ रुपैयाँ कायम गरेको छ। हिजो आइतबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५०६.९९ रुपैयाँ थियो। आज समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
कम्पनीले वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ आज जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ २५ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न वा अन्य आवश्यक कार्य गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

















