IME Life New

नेप्सेका सीईओ र शेयर लगानीकर्ताबीच भेट, नेप्सेको पुनर्संरचना कार्यले गति लिने विश्वास

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर लगानीकर्ताका नेताहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना कार्यले गति लिने विश्वास व्यक्त गरेका छन्।

नेप्सेको कार्यालयमा शुक्रबार नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सफल कार्यकालको शुभकामना गर्दै शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगाकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन्। ‘नेप्सेको पुनर्संरचना प्रक्रिया लामो समयदेखि विचाराधीन अवस्थामा रहे पनि हालैका निर्णयहरुले यसलाई गति दिएको देखिन्छ’, तीनवटै संगठनले संयुक्त रुपमा सीईओ चापागाईंलाई बुझाएको ज्ञापत्रपत्रमा भनिएको छ, ‘निजी क्षेत्रको सहभागिता, पुँजी वृद्धिको योजना र संस्थागत सुधारहरुमार्फत नेप्सेलाई आधुनिक, पारदर्शी, र प्रतिस्पर्धात्मक बनाउने प्रयास भइरहेको छ। यस प्रक्रियामा देखिएका विवाद र चुनौतीलाई सम्बोधन गर्दै यथासक्य नेप्सेको पुनर्संरचना कार्यान्वयनमा अघि बढ्न सफलता मिलोस् भन्ने पनि शुभकामना दिन चाहान्छौँ।’

Crest

चापागाईंको कार्यकालमा पुँजीबजार पारदर्शीता, प्राविधिक आधुनिकीकरण, संस्थागत सुशासन, र लगानीकर्तामैत्री वातावरणको प्रवर्द्धन हुनुका साथै बजारमा दीर्घकालीन स्थायित्व र लगानीकर्ताको विश्वास अभिवृद्धिमा ठोस परिणाम आउने लगानीकर्ताहरुको अपेक्षा छ। ‘विशेषगरी नीति स्पष्टता, प्रभावकारी नियमन तथा नवीनतम प्रविधिको कार्यान्वयनमार्फत बजारमा गुणात्मक सुधार आउनेमा हामी आशावादी छौँ’, ज्ञापनपत्रमा उल्लेख छ।

देशका सबै वर्ग र भूगोलका नागरिकसम्म पुँजीबजारको पहुँच पुगोस्, लगानीकर्ताको हकहितको संरक्षण होस् र नेपालको आर्थिक समृद्धिमा पुँजीबजारले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना लगानीकर्ताहरुले दिएका छन्। ‘तपाइँको कार्यकाल सफल, समृद्ध र ऐतिहासिक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ’, ज्ञापनपत्रमा भनिएको छ।

सीईओ चापागाईंको पुँजीबजार तथा वित्तीय क्षेत्रमा भएको दीर्घ अनुभव, स्पष्ट नीति दृष्टिकोण र दुरदर्शी नेतृत्व क्षमताले नेप्सेमात्र नभई समग्र नेपाली पुँजीबजार प्रणालीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी बनाउने दिशामा उल्लेखनीय प्रगति गराउने विश्वास लगानीकर्ताको छ।

नेप्सेले शेयर, डिबेन्चर, म्युचुअल फन्डलगायतका वित्तीय साधनको कारोबारको व्यवस्थापन गर्दै आएको छ। प्रविधिमा आधारित, पारदर्शी र सुरक्षित कारोबार प्रणालीमार्फत नेप्सेले लगानीकर्तालाई औपचारिक प्लेटफर्म प्रदान गर्नुका साथै सूचीबद्ध कम्पनीको निगरानी, सूचनाको पारदर्शीता र बजार स्थायित्व कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। चापागाईंको सफल नेतृत्वमा नेपाली पुँजीबजार थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लिनुका साथै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत लगानीकर्ताले व्यक्त गरेका छन्।

ज्ञापनपत्रमा नेपालको पुँजीबजारले राष्ट्रको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको उल्लेख छ। ‘नेप्सेमार्फत गरिएको कारोबारबाट सरकारले पुँजी लाभकर, लाभांश कर, व्यापार कर लगायत विभिन्न शीर्षकमा महत्वपूर्ण राजस्व संकलन गर्दै आएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९।८० र २०८०।८१ मा मात्र पुँजीबजारबाट राज्यले करिब १६–१७ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो क्षेत्रले न केवल राज्यको राजस्व वृद्धि गर्न मद्दत पुरÞ्याएको छ, यसले वित्तीय पहुँचलाई विस्तार गरी आम नागरिकलाई लगानीको अवसर समेत प्रदान गरेको छ।’

नेप्सेको नेतृत्वदायी भूमिका, नियमन र पूर्वाधार सुदृढीकरणले पुँजीबजारको दायरा विस्तार गर्न र पारदर्शीता बढाउन उल्लेखनीय भूमिका खेलेको लगानीकर्ताहरुको भनाइ थियो। ‘पछिल्लो समय बजारको विस्तार र सामूहिक लगानी योजनाको प्रवर्द्धनले गर्दा पुँजीबजार देशको दिगो आर्थिक विकासमा एक महत्वपूर्ण आधारशिला बन्दै गएको कुरा नकार्न सकिँदैन’, ज्ञापनपत्रमा भनिएको छ।

सीईओ चापागाईंसँगको भेटघाट कार्यक्रममा नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारलगायत अन्य लगानीकर्ता पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS