काठमाडौं। उच्च व्यवस्थापकीय तहमा महिला कर्मचारीको सहभागिताका हिसाबले जीवन बीमकको तुलनामा निर्जीवन बीमक अघि देखिएका छन्।
निर्जीवन बीमकमा उच्च व्यवस्थापकी तहमा रहेर प्रत्यक्ष रुपमा प्रमुख कार्यकारी अधिकृतलाई जाहेरी गर्ने र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा जनशक्तिमध्ये २५ प्रतिशत महिला छन्। जीवन बीमकमा यो तहको कुल जनशक्तिमध्ये जम्मा ७ प्रतिशत मात्र महिला जनशक्ति रहेको छ।
उच्च व्यवस्थापकीय तहमा महिलालाई अवसर प्रदान गर्ने सवालमा जीवनभन्दा निर्जीवन बीमक बढी उदार देखिएका छन्। जीवन बीमकभन्दा पनि निर्जीवन बीमकको कर्मचारीमा रुपमा काम गर्दा महिलाले वृत्तिविकासको छिटो र बढी अवसर प्राप्त गर्न सम्भव रहेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सव विशेषांकमा उपनिर्देशक पुष्पा कुँवरद्वारा लिखित ‘इन्स्योरेन्थ थ्रु जेन्डर लेन्सः सिग्निफिकेन्स, च्लोजेन्ज एन्ड द वे फर्वार्ड’ शीर्षकको आलेखमा उल्लेख भएअनुसार बीमकको सञ्चालक समितिमा महिला सहभागिताका हिसाबले निर्जीवनभन्दा जीवन बीमक बढी सहज देखिएका छन्। जीवन बीमकको सञ्चालकमध्ये २५ प्रतिशत महिला छन्। निर्जीवन बीमकको सञ्चालक समिति सदस्यमध्ये १८ प्रतिशत मात्र महिला छन्।
पुनर्बीमा विज्ञ देखि कार्यकारी अधिकृतसम्म
नेपालमा पुनर्बीमक र निर्जीवन बीमकको प्रमुख कार्यकारी, नायब प्रमुख कार्यकारी अधिकृत र महाप्रबन्धक पदमा महिला छन्। प्रमुख कार्यकारी अधिकृत पदमा पहिलोपटक महिलालाई अवसर प्रदान गरेको पनि निर्जीवन बीमा कम्पनीले नै हो।
तत्कालीन युनाइटेड इन्स्योरेन्समा उपासना पौडेलले पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति पाएकी थिइन्। हाल उनी हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी छिन्। निर्जीवन बीमकमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा अन्जु श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्।
शिखर इन्स्योरेन्समा सबिता मास्के र युनाइटेड अजोड इन्स्योरेन्समा रिना रिजाल नायब प्रमुख कार्यकारी अधिकृत छन्।
पुनर्बीमा विज्ञसमेत रहेकी डा. रमा दाहालले पुनर्बीमा दलाल कम्पनीको नेपाल प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्।
व्यवस्थापकीय तहमा जीवन बीमकमा कार्यरत कुल जनशक्तिमध्ये २२ प्रतिशत महिला छन्। निर्जीवनमा भने १८ प्रतिशत महिला सहभागिता छ।
जीवन बीमकमा महिला अधिक
कुल जनशक्तिमा महिला सहभागिताको हिसाबमा जीवन बीमकमा निर्जीवन बीमकको तुलनामा अलिक बढी सहभागिता रहेको छ। कुल कार्यरत जनशक्तिमध्ये निर्जीवनमा ३७ प्रतिशतमात्र महिला हुँदा जीवनमा ३९ प्रतिशत महिला छन्।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको ‘बीमा प्रतिविम्ब’ तथ्यांक पत्रमा उल्लेख भएअनुसार २०८१।८२ को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीमा कुल ६ हजार ५५ जनशक्ति कार्यरत छन्। औसतका आधारमा यीमध्ये २ हजार ३६१ महिला जनशक्ति छन्। यसैगरी निर्जीवन बीमकमा कुल ६ हजार ३६ जना कार्यरत छन्। सहभागिता प्रतिशतका आधारमा यीमध्ये करिब २ हजार २३३ जना महिला जनशक्ति रहेको अनुमान गर्न सकिन्छ।

















