काठमाडौं । भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालर्मैत्रीको रुपमा घोषणा गरिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले १५ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् ।
प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने धारणा राखिन् । देशका ६ महानगरपालिका मध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि स्मरण गरिन् ।
वडा नम्बर १५ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद पनि ज्ञापन गरिन् ।
‘बालमैत्री वडा घोषणा गर्नु ठुलो विषय होईन,उनले भनिन,‘यसको दीगोपन र निरन्तरता ठुलो विषय हो । वडा नम्बर १५ लाई आजदेखि जिम्मेवारी थपिएको छ ।’
उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरले भौतिक विकाससँगै मानविय विकासलाई सँगसँगै अघि बढाइरहेको बताए । उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिउ ।

















