IME Life New

ब्याजदर घटिरहँदा पनि किन बढ्न सक्दैन कर्जा प्रवाह ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हरेक महिना ब्याजदर घट्दै गए पनि बैंकहरुले त्यसको तुलनामा कर्जा भने बढाउन नसकेको देखिएको छ। बैंकहरुले पछिल्लो समय कर्जा विस्तारमा भन्दा पनि कर्जा असुलीमा बढी ध्यान केन्द्रित गर्दा कर्जा वृद्धिमा व्याजदरको प्रभाव न्यून मात्रै देखिएको छ।

चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले बढेको छ। कर्जा विस्तार गत असारको तुलनामा ७.१ प्रतिशतले मात्र बढेको हो।

Esewa
Crest

गत असारसम्ममा ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा चैतसम्ममा ७.१ प्रतिशतले बढेर ५५ खर्ब ३४ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षको नौ महिनामा निजी क्षेत्रमा जाने कर्जा २ खर्ब २२ अर्ब २१ करोड रुपैयाँले बढेको थियो।

बैंकरहरुले ब्याजदर घटेको तुलनामा कर्जा बढाउन नसकिएको बताएका छन्। उसो त उनीहरुमध्ये केही बैंकको पुँजी कोष दबाबमा रहेका कारण पनि कर्जा विस्तार हुन सकिरहेको छैन।

एकातिर कर्जाको माग नै कम भइरहेको अवस्थामा बैंकहरुले कर्जा बढाउनभन्दा पनि असुल्नतर्फ ध्यान दिएका छन्। जसले गर्दा कर्जा प्रवाह वृद्धि भने धिमा गतिमा मात्रै बढेको देखिन्छ।

२०८० चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत रहेकोमा २०८१ चैतमा घटेर ८.२२ प्रतिशतमा झरेको छ। यसले हरेक महिना कर्जाको ब्याजदर घटिरहेको देखाउँछ। तर, सोअनुसार कर्जा भने बढ्न सकेको छैन।

२०८१ साउनमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.६८ प्रतिशत हुँदा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको थियो।

भदौमा यस्तो ब्याजदर ८.०६ प्रतिशत हुँदा कर्जा प्रवाह १.४ प्रतिशतले बढेको थियो। असोजमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत हुँदा कर्जा वृद्धि २.५ प्रतिशत थियो। कात्तिकमा यस्तो ब्याजदर ९.०७ प्रतिशत हुँदा कर्जाको वृद्धिदर २.५ प्रतिशत नै थियो।

यस्तै मंसिरमा कर्जाको औसत ब्याजदर ८.९ प्रतिशत हुँदा ३.५ प्रतिशतले कर्जा विस्तार वृद्धि भएको थियो। पुसमा कर्जाको ब्याजदर ८.६९ प्रतिशत हुँदा कर्जाको वृद्धि ५.२ प्रतिशत, माघमा ब्याजदर ८.५५ प्रतिशत हुँदा कर्जा वृद्धि ५.६ प्रतिशत र फागुनमा कर्जाको ब्याजदर ८.४ प्रतिशत हुँदा कर्जा वृद्धि ६ प्रतिशत भएको थियो।

चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा १२.५ प्रतिशत कर्जा प्रवाह बढ्ने अनुमान राष्ट्र बैंकको छ। जसअनुसार ९ महिनामा कर्जा ७.१ प्रतिशतले बढेको हो।

आयात, निर्माण तथा शेयर कर्जा बढ्दा त्यसले समग्र कर्जा प्रवाह केही बढेको भने देखिएको छ। ‘तर, जति मात्रामा ब्याजदर घटेको छ, त्यति मात्रामा कर्जा बढेको छैन’, एक बैंकरले भने।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले बढेको छ। २०८१ असारमा ८ खर्ब १९ अर्ब १ करोड रुपैयाँ रहेको औद्योगिक उत्पादन क्षेत्रको कर्जा २०८१ चैतमा ९.६ प्रतिशतले बढेर ८ खर्ब ९८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

२०८० चैतमा भने उत्पादन क्षेत्रतर्फको कर्जा ८ खर्ब १९ अर्ब १ करोड रुपैयाँ थियो। २०८१ असारको तुलनामा चैतसम्ममा निर्माण क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ। गत असारमा यस्तो कर्जा प्रवाह २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ रहकोमा २०८१ चैतमा बढेर २ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

अहिले अर्थतन्त्रलाई कर्जा विस्तारको टेकोका रुपमा आयात तथा निर्माण क्षेत्र बलियो बन्न थालेका छन्। शेयर बजारतर्फ जाने कर्जा प्रवाह बढ्दा पनि कर्जा वृद्धिमा सहज भएको बैंकरहरु बताँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS