काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)मा कर्मचारीले शेयर सूचीकृत गर्दा प्रदान गरिने कोड र इन्टरनेसनल स्ट्यान्डर्ड आइडेन्टिफिकेसन नम्बर (आईजीन)लाई कमाइ खाने भाँडो बनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
नेप्से र सीडीएससीमा कर्मचारीले अख्तियार दुरुपयोग गरी व्यापारीसँगको मिलेमत्तोमा कतिपय कम्पनीको सिंगल आईजीन र सिंगल कोड सिर्जना गरी असुली धन्दा चलाएको भन्दै कर्मचारीउपर छानबिन गरी कारबाही गर्न माग गरिएको छ। आईजीनको नाममा भएको विकृति रोक्नका लागि अमर लम्सालले अख्तियारमा उजुरी दर्ता गराएका हुन्। उनले सी–०६७३७० को दर्ता नम्बरमार्फत अख्तियारमा उजुरी दर्ता गराएका हुन्।
लम्सालले कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा संस्थापक र सर्वसाधार गरी दुई भागमा शेयर जारी गर्ने तथा रियल सेक्टर र जलविद्युत कम्पनीका संस्थापकहरुको शेयर ३ वर्षसम्म लकइन हुने भएपनि नेप्से र सीडिएससीले एउटै कोड र आईजीन दिएर लगानीकर्तामा भ्रम सिर्जना गरी कमाई खाने भाडोका रुपमा विकास गरेको भन्दै अख्तियारमा उजुरी हालेका हुन्। ‘प्रमोटर र पब्लिक गरी दुई भागमा विभाजन गरिएको शेयरलाई नेप्सेले एउटै कोड नम्बर उपलब्ध गराउने तथा सोही कोडका आधारमा सीडीएससीले एउटै आईजीन नम्बर दिएर सर्वसाधारण लगानीकर्तामाथि शोषण गर्नुका साथै अख्तियारको समेत दुरुपयोग गरी गैरकानूनी कार्य गर्दै आएका छन्’, उजुरीमा भनिएको छ, ‘एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफुसँग भएको शेयर दोस्रो बजारमा बिक्री गरेको पाईएको छ भने एउटै कोड र आइजिनकै कारण कतिपयले भुलबस लकिङ समयावधिमा रहेको शेयर बिक्री गरेका छन्। जुन नेपालको शेयर बजारको दुर्भाग्य र नेप्सेले गर्दै आएको गैरकानुनी क्रियाकलाप भएको छ।’
यसका साथै नेप्से र सीडीएसले कम्पनीका संस्थापकहरुसँगको मिलेमतोमा एउटा कम्पनीका दुईवटा फरक–फरक प्रकृतिका शेयरलाई एउटै बास्केटमा राखेर मिसाई साना तथा सर्वसाधारण लगानीकर्तालाई मारमा पार्ने तथा बजारबाटै निस्तेज पार्ने काम गर्दै आएको उजुरीमा उल्लेख छ। यसैगरी शेयर लकिङ खुल्नु र कम्भर्जन हुनु दुई फरक–फरक विषय भएको तर अहिले कम्पनीका संस्थापकहरुको मिलेमतोमा नेप्से र सीडीएसले लकिङ खुलेको शेयरलाई कन्भर्जन भन्दै एउटै बास्केटमा राखेर खदिबिक्री गर्न दिँदै आएको भन्दै सो सम्बन्धमा समेत छानबिन गर्न माग गरिएको छ।
यसैगरी अर्थ मन्त्रालयको मिति २०६४ चैत १४ गतेको तत्कालीन नेपाल धितोपत्र विनिमय बजारलाई काटेको पत्रअनुसार पनि कन्भर्जन नभइसकेको अवस्थामा संस्थापक शेयरको मूल्य पब्लिक शेयरको तुलनमा आधार अर्थात ५० प्रतिशत कम मूल्यमा बिक्री हुने भनी स्पष्ट लेखी पठाएको छ। तर, अहिले सूचीकृत कम्पनीहरुले लकिङ खुल्नुलाई नै कम्भर्जन भन्दै लकिङ अवधि सकिएपछि दोस्रो बजारमा सर्वसाधारण शेयरकै मूल्यमा बिक्री गर्दै आएको र यसमा समेत कानुन बाझिनुका साथै गलत कार्य भएको उक्त निवेदनमा उल्लख गरिएको छ।
अहिले पनि बैंक तथा वित्तीय संस्थाको शेयर सूचीकृत गर्दा स्पष्ट रुपमा दुई थरी कोड र आईजीन दिइएको छ। यसैगरी कतिपय लगानी कम्पनी र उत्पादनमुलक कम्पनीलाई समेत फरक फरक कोड र आईजीन उपलब्ध गराइएको छ। तर, नेप्से र सीडीएससीको मिलेमतोमा यसअघि जलविद्युतलगायत कतिपय रियर सेक्टरका कतिपय कम्पनीलाई एउटै कोड र आईजीन दिएर बार्गेनिङ गर्दै कमाउ धन्दाको रुपमा विकसित गरेको समेत उजुरीमा उल्लेख छ। ‘जसको विकृतिको ज्वलन्त उदाहरण सुपर माई हाइड्रोको बोनसबापत आएको शेयर संस्थापक लगानीकर्ताले लकइन नखुल्दै बिक्री गरे भने आँखुखोला जलविद्युत आयोजनाका संस्थापक लगानीकर्ताले पनि एउटै कोड आईजीन भएका कारण लकइन समयावधि नसकिँदै शेयर बिक्री गरेर बाहिरिएका छन्’, उजुरीमा भनिएको छ।
यसका साथै अबका दिनमा नेपालको पुँजीबजारमा देखिएको विकृति र विसंगति रोक्नका लागि अब आइपीओमा गएर सूचीकृत हुने पाइपलाइनमा रहेका सबै कम्पनीलाई दुई फरक–फरक कोड र आईजीन दिनका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीलगायतका सम्बद्ध निकायलाई छाविनको दायरामा ल्याई सर्वसाधारण लगानीकर्ताको हित सुरक्षित गर्नसमेत उक्त उजुरीमा माग गरिएको छ। साथै, यसअघि एउटै कोड र आईजीन भएका तर लकइन अवधि बाँकी रहेका कम्पनीलाई समेत फरक–फरक कोड र आईजिन दिलाउन समेत लम्सालको माग छ।

















