काठमाडौं । भारतभर चलिरहेको ठूलो ठगी गिरोहको पर्दाफास गर्ने गाजियाबादबाट एउटा अपराधको खुलासा भएको छ। यो ठगी गाडी बीमाको नाममा गरिएको हो।। यो ठगीबाट २५ हजारभन्दा बढी मानिस पीडित भएका छन्।
भारतको गाजियाबाद साइबर प्रहरीले आइतबार आपराधिक संगठित गिरोहका दुई मुख्य योजनाकर्तालाई पक्राउ गरेपछि बीमा धोकाधडीको उजागर भएको हो। यो गिरोहबाट गाजियाबादका मात्र १२८ जना पीडित भएका छन् र यसको आर्थिक प्रभाव भारु ५० करोड (८० करोड रुपैयाँ)भन्दा बढी छ।
पक्राउ पर्नेमा मेरठनिवासी ५१ वर्षीय सरताज र गाजियाबादको कविनगरनिवासी ३८ वर्षीय दीपक ठाकुर छन्। सरताजसँग बीकम डिग्री छ र ठाकुरसँग बीए डिग्री छ। दुवै गाजियाबादको आरटीओ कार्यालयमा इजाजतपत्र प्राप्त एजेन्टका रुपमा काम गरिरहेका थिए। यी दुवैविरुद्ध साइबर प्रहरीचौकीमा बबीमा धोकाधडीसँग सम्बन्धित मुद्दा दर्ता गरिएको छ।
अपराध तथा साइबरका एडीसीपी पीयूषकुमार सिंहले यो गिरोहले पुराना व्यावसायिक सवारीसाधन र लरीका मालिकलाई निसाना बनाएको बताए। अभियुक्तहरुले पहिले ग्राहकलाई भारी सवारीसाधनका लागि पूर्ण प्रिमियम लिने गर्थे, जुन भारु १५ हजारदेखि २५ हजारसम्म हुन्छ। तर, बीमा पोलिसीका लागि आवेदनलाई हेरफेर गरेर दुईपांग्रे सवारीसाधनका मात्र गर्थे। यसको मूल्य लगभग भारु १ हजार ५०० मात्र छ। बाँकी रकम यो गिरोहले हडप्थ्यो।
प्रहरीले अभियुक्तहरुको मोबाइल फोनबाट ८४ वटा नक्कली तेस्रो पक्ष बीमा पोलिसी बरामद गरेको छ। जुन आईसीआईसीआई लोम्बार्ड जनरल इन्स्योरेन्स, म्याग्मा एचडीआई, चोला एमएस, बजाज एलियान्ज, टाटा एआईजी, नेसनल इन्स्योरेन्स, श्रीराम जनरल इन्स्योरेन्स, एचडीएफसी एर्गो, रोयल सुन्दरम र एसबीआई जनरल इन्स्योरेन्स लगायत धेरै कम्पनीको नाममा बनाइएका थिए। प्रहरीले ती कम्पनीलाई सम्पर्क गरी यस विषयमा गहन अनुसन्धान गरिरहेको छ। –एजेन्सी

















