IME Life New

नीलमले अड्काइन् गभर्नर नियुक्तिको हलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुक एक महिनादेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ। गभर्नर नियुक्ति राजनीतिक नियुक्ति हो। राजनीतिमा अन्य स्वार्थ हाबी हुँदा कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले गभर्नर नियुक्तिको हलो अड्काएकी छन्।

गत चैत २३ मा महाप्रसाद अधिकारीको अवकाशसँगै राष्ट्र बैंक कायममुकायम गभर्नर नीलमको नेतृत्वमा छ। एक दिन पनि रिक्त हुन नहुने गभर्नर पदमा नीलमकै कारण एक महिनाभन्दा बढी समयदेखि गभर्नर पद रिक्त छ। यसबीचमा सरकारले गभर्नर नियुक्तिका लागि पटक–पटक प्रयास गरे पनि नीलमकै जिद्दीले नियुक्ति हुन सकेको छैन।

Esewa
Crest

राष्ट्र बैंक ऐनमा गभर्नर नियुक्ति गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था छ। तर, सरकारले ढिला गरी गभर्नर नियुक्ति गर्ने तरखर गर्दा नीलम बाधक बनेकी छन्।

गभर्नर बन्ने दौडमा रहेकै समयमा कार्यकारी निर्देशकद्वय प्रकाशकुमार श्रेष्ठ र गुणाकर भट्टले पदबाट राजीनामा दिएका थिए। तर, उनीहरुको राजीनामा नीलमले स्वीकृत गरेकी छैनन्।

कायममुकायमलाई राजीनामा स्वीकृति गर्ने अख्तियारी छ। तर, भट्टलाई गभर्नर बन्न नदिनकै लागि नीलमले राजीनामा स्वीकृत गरेकी छैनन्। अझ उनले आफू गभर्नर नबने उनीहरुलाई पनि बन्न नदिने बताउँदै आएकी छन्।

केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले औपचारिक रुपमै नीलमलाई भट्टको राजीनामा स्वीकृत गर्नका लागि आग्रह गरेका थिए। तर, उनले त्यसलाई नकारिन्।

केही समयअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भट्टलाई गभर्नर बनाउनका लागि सहमति भएको भनिएको थियो। सोही सहमतिपछि नीलमले गभर्नर नियुक्तिमा भाँजो हाल्ने काम गरेकी हुन्।

गतमा ओलीले नीलमलाई गभर्नर बनाउन चाहेका थिए। तर, सत्ता गठबन्धन नै धरमरमा परेपछि भट्टलाई गभर्नर बनाउन उनी राजी भएका थिए। नीलमले यसबीचमा विभिन्न स्वार्थ समूहबाट समेत गभर्नर आफूलाई बनाउनका लागि दवाव बढाएकी थिइन्। तर, पछि सरकारले भट्टलाई गभर्नर बनाउने कुरा बाहिरिएपछि उनले कार्यकारी निर्देशकको राजीनामा स्वीकृत नगरेकी हुन्।

यतिखेर मुलुक सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार निवारणमा कमजोर सावित भएर ग्रे लिस्टमा परेको छ। नेताहरुले नियुक्तिमा ठूलै रकम लेनदेन गर्ने गरेको, सम्पत्ति शुद्धीकरण गरेर अन्यन्त्र मुलुकमा लगानी गरेको, कालोबजारी गरेको लगायतका कारण ग्रे लिस्टमा मुलुक परेको हो। यस्तो अवस्थाबाट मुक्त हुनका लागि गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ। तर, सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। गभर्नर नियुक्तिको साटो नियुक्तिका लागि मोलमोलाइतर्फ सरकार उद्धत छ।

सरकारले पटक–पटक गभर्नरका लागि विभिन्न व्यक्तिहरुलाई अगाडि सार्दै आउँदा त्यसलाई सहज हुने गरी स्वार्थ समूह र व्यापारिक बिचौलियाहरु हाबी भइरहेको भन्दै राजनीतिक वृत्तमा ठूलै बहस हुँदै आएको छ।

मुलुक बजेट निर्माणको प्रक्रियामा छ। यस अवस्थामा राष्ट्र बैंकको नेतृत्वले बजेटका लागि महत्वपूर्ण सुझाव दिनुपर्छ। तर, सुझाव दिनका लागि केन्द्रीय बैंकमा नेतृत्व नै छैन। कायममुकायम गभर्नरको जिम्मेवारी नीलम ढुंगानाले सम्हाले पनि पूर्ण रुपमा काम गर्न सक्दिनन्। यसमाथि पनि उनी आफैँ गभर्नरको आकांक्षी भएकाले केन्द्रीय बैंकले गर्नुपर्ने नीतिगत काम उनले ठप्प पारेर राखेकी छन्।

गभर्नर बन्ने सम्भावना भट्टको बढी रहेको अवस्थामा अब सिफारिस समितिले तीनजना क–कसको नाम सिफारिस गर्छ भन्ने कुराले पनि गभर्नर निर्धारण हुने देखिन्छ। यद्यपि गभर्नर नियुक्ति अझै केही दिन लम्बिने जानकारहरु बताउँछन्।

अहिले जसरी पनि कांग्रेसको तर्फबाट गभर्नर नियुक्ति गर्ने सरकारलाई दवाव छ। यसकारण कांग्रेसले पहिलो विकल्पमा भट्ट, दोस्रोमा ज्ञानेन्द्र ढुंगाना र तेस्रोमा अरु कोही पात्र वा व्यक्तिलाई गभर्नर बनाउन सक्ने देखिन्छ। राजनीतिक कोर्स नै बदलिने अवस्था आउँदा भने एमालेले नीलमलाई नै गभर्नरको रुपमा अगाडि बढाउने देखिन्छ। उनीबाहेकको विकल्पमा प्रकाश कुमार श्रेष्ठ पनि एमालेको रोजाइमा छन्। तर अहिले भट्टलाई गभर्नर बनाउनका लागि देउवा एक कदम अगाडि बढिसकेकाले पछाडि फर्किने अवस्था नरहेको बताउँन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS