IME Life New

बीमा प्राधिकरणमा भद्रगोल, कर्मचारीको जिम्मेवारी हेरफेरले सेवा ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कर्मचारी बढुवासँगै अन्धाधुन्द सरुवा र जिम्मेवारी हेरफेरका कारण केन्द्रीयदेखि प्रादेशिकसम्मका कार्यालयको सेवा प्रवाह नराम्ररी प्रभावित बनेको छ।

सेवाग्राही बीमित, अभिकर्ता र बीमकका अनुसार गत फागुन दोस्रो सातादेखि प्राधिकरणको सेवा प्रवाहको गति मन्द हुन थालेकोमा चैतदेखि यो ढिलासुस्ती उत्कर्षमा पुगेको छ।

Esewa
Crest

साबिकको जिम्मेवारीमा रहेका कर्मचारीले नयाँ जिम्मेवारी पाएर आएका कर्मचारीलाई काम गर्ने तरिका र प्रक्रियाबारे जानकारी र अनुभव साट्ने मौका नै नदिई तासको पत्ता फेटेझैँ गरेर जथाभावी जिम्मेवारी फेरिएकाले यस्तो सकसपूर्ण अवस्था बनेको हो। कर्मचारी गुनासो मिश्रित स्वरमा भन्दैछन्, ‘राइट म्यान एट राइट जब’ हुन सकेन।

सेवाग्राहीले कुनै विषयमा निर्णय वा पूर्वस्वीकृतिका लागि दर्ता गराएको निवेदन सम्बन्धमा जिज्ञासा राख्दा प्राधिकरणका प्रायः कर्मचारी भन्छन्, ‘भर्खरै शाखामा सरुवा भएको छ, तपाइँको निवेदन हेर्नै भ्याएको छैन, केही दिनमा प्रोसेस होला।’

ती कर्मचारी कहाँबाट काम सुरु गर्ने भन्नेमा अलमलमा परेकाले काम थाती छ। एकपटक सरुवा भएका कर्मचारी महिना दिन नहुँदै पुनः सरुवा गरिएकाले पनि कर्मचारीले काममा हात हाल्न रुचि गरेका छैनन्।

अर्कोतर्फ प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिको विषयलाई लिएर न्यायिक निकायमा चुनौती दिइएको र उमेर, योग्यतालगायतको विवादमा सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले पनि कर्मचारीहरु उनी पूरा कार्यकाल प्राधिकरण परिसरभित्र बस्न पाउने वा नपाउने विषयलाई लिएर अन्यौलको अवस्थामा छन्।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर नियमित प्रक्रिया भएको बताए। उनले भने, ‘अति संवेदनशील र प्राविधिकबाहेकको शाखाका कर्मचारीको जिम्मेवारी साटफेर भएको हो, यसले सेवा प्रवाहमा खासै फरक पार्दैन।’

प्राधिकरणका प्रवक्ताले यस्तो दाबी गरिरहँदा बीमकका गुनासो भने फरक छ। उनीहरु भन्छन्, ‘सोधीखोजी नगरे महिना दिनसम्म पनि सामान्य प्रकृतिका निर्णयसमेत नभएको अवस्था छ। शाखामा निवेदन दिने बेला एउटा कर्मचारी देखा पर्छन्, फ्लो अपमा जाँदा उही कुर्सीमा अर्कै कर्मचारी भेटिन्छन्, फाइल जहाँको त्यही, जस्ताको त्यस्तै हुँदा ढिलासुस्ती र सास्तीमात्रै बढेको छ।’

प्राधिकरणले प्रत्येक शाखा र विभागबाट सम्पादन हुने कामको प्रगतिलाई ट्रयाक गर्ने सूचना प्रविधि विकास गरिएको जानकारी गराएको थियो। तर, यसपटक ती कुनै पनि डिजिटल ट्रयाकिङ प्रणालीले काम गरेजस्तो अनुभूति सेवाग्राहीले गर्न पाएका छैनन्।

प्राधिकरणको प्रादेशिक कार्यालयमा समेत कर्मचारीको नयाँ सेट खटाइएकाले उनीहरु बीमकसँग परिचित हुन र कसको के भूमिका छ भन्ने बुझ्नमै अल्झिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS