IME Life New

जहाज थप्न नसक्दा बजार हिस्सा विस्तार गर्न सकसमा यती एयरलाइन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिस्पर्धी एयरलाइन्सले विमान संख्या थपेर बजार विस्तार गरिरहँदा निजी क्षेत्रको वायु सेवा प्रदायक यती एयरलाइन्सलाई बजार विस्तार गर्न जहाज थप्ने दबाब परेको छ। यो वायु सेवा कम्पनीले गएको वर्ष नै सीमित (७ वटा) विमान संख्याका कारण यसले चल्तीका सबै रुटमा उडान सेवा दिन नसक्दा घरेलु बजारको बढ्दो मागअनुसार बजार विस्तार गर्न सकेको छैन।

गएको वर्ष नै थप दुईवटा विमान खरिद गर्ने घोषणा गरे पनि अन्तर्राष्ट्रिय बजारमा १५ वर्ष उमेर नपुगेका एटीआर ५०० र ६०० मोडेलका पुराना विमान उपलब्ध नभएपछि यती एयरको विमान विस्तार योजना पछाडि धकेलिँदै गएको छ।

Esewa
Crest

पछिल्लो समयमा यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले बम्बार्डियरको क्यू–४०० सिरिजका जहाज भित्र्याउने जानकारी सञ्चारकर्मीलाई गराएका छन् । यसअघि उनले २०८१ असारमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा एटिआर ७२–६०० सिरिजका दुई विमान खरिद गर्ने बताएका थिए।

नयाँ जहाज खरिद गर्न पर्याप्त लगानी आवश्यक पर्ने भए पनि पुँजीगत लगानीका लागि यती एयरलाइन्ससँग अहिले तरलता उपलब्ध छैन। सर्वसाधारणमा शेयर निष्कासन गरेर थप चुक्ता पुँजी नजुटाउँदासम्म यती एयरलाइन्सका लागि विमान थप्ने निर्णय सहज हुने अवस्था छैन।

पर्याप्त विमान नहुँदाको सकस

प्रतिस्पर्धी बुद्ध एयरले १८ वटा एटीआर विमानमार्फत देशका सबै मुख्य गन्तव्यमा उडान भरिरहँदा सीमित ७ वटा मात्र जहाज भएको यती एयरलाइन्सले चल्तीको सबै रुटमा उडान भर्न सकेको छैन। काठमाडौंबाट सबैभन्दानजिकको सिमरा (मधेश), भरतपुर (बागमती), सुर्खेत (कर्णाली) र धनगढी (सुदूरपश्चिम) मा यती एयरलाइन्सको जहाजले उडान भर्दैन।

काठमाडौं बाहिर सर्वाधिक चल्तीको गन्तव्य पोखराका लागि पनि यती एयरलाइन्सले बुद्ध एयरको तुलनामा पर्याप्त र नियमित उडान भर्न सकेको छैन। विराटनगर, चन्द्रगढी, भैरहवा र नेपालगञ्जका लागि पनि सीमित उडानमात्र छ। मौसमी खराबी वा एयर ट्राफिक होल्डका कारण नियमित तालिकाको एउटा उडान पर धकेलिँदा चेन इफेक्टका कारण यती एयरलाइन्सको सबै उडान ढिला हुँदा यात्रु आजित हुन्छन्।

यती एयरलाइन्ससँग बेडामा जम्मा ७ वटा विमान छन् । बुद्ध एयरसँग १८ वटा विमानसहितको सर्वाधिक ठूलो बेडा छ। अति संवेदनशील र सुरक्षित यातायातका माध्यमका रुपमा चिनिने वायु सेवामा प्रयोग हुने विमान, जनशक्ति सबैको कार्य घन्टा पूर्वनिर्धारित हुन्छ। विमानको नियमित चेक जाँच र अनिवार्य मर्मतसम्भारका कारण वायु सेवा प्रदायकसँग रहेका सबै विमान सधैँ उडान भर्न योग्य हुँदैनन्।

कहिले विमानको उडान घन्टा पूरा भएपछि सबै ठीकठाक भए पनि सुरक्षा चासोका कारण विमान अनिवार्य मर्मतका लागि विश्राम दिनुपर्छ। कहिले चाहिँ विमानको उडान घन्टा बाँकी नै रहँदा पनि चालक दलका सदस्य, विमान परिचारिका लगायतको कार्य घन्टा पूरा हुँदासमेत उनीहरुलाई अनिवार्य विश्राम दिनुपर्ने भएकाले उडान सेवा ठप्प गर्नुपर्ने बाध्यता हुन्छ।

पूर्वनिर्धारित उडान घण्टा पुरा भएपछि विमानको सी चेक (अनिवार्य जाँच र मर्मत) का लागि विदेश भारत वा अन्य कुनै देशमा विमान पठाउनुपर्ने बाध्यता हुन्छ।

नागरिक उड्ययन प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार सन् २०२४ मा उडान संख्याका आधारमा बुद्ध एयर ५९ प्रतिशत बजार हिस्सासहित शीर्ष स्थानमा कायमै रहेको छ। बढ्दो बजार माग धान्न सक्ने गरी पर्याप्त संख्यामा विमानको जोहो गर्न नसकेको यती एयरलाइन्सको बजार हिस्सा भने यो अवधिमा २१ प्रतिशत पुगेको छ। सन् २०२३ मा यतीको हिस्सा १७.२७ प्रतिशत थियो।

श्री एयरलाइन्सको अवस्था

विमानको प्रकृतिका कारण अर्को प्रतिस्पर्धी श्री एयरलाइन्सले पनि बुद्ध एयरलाई चुनौती दिने गरी छोटो दूरीका हवाई अड्डाहरुमा उडान भर्न सकेको छैन। सिमरा, भरतपुर, जनकपुरजस्ता छोटो दूरीको उडान भर्दा इन्धन खर्चका कारण किफायती हुन नसक्दा श्री एयरलाइन्सले पर्याप्त विमान संख्याका बावजुद बुद्ध एयरलाई सबै रुटमा चुनौती दिन सकेको छैन। श्री एयरलाइन्सको चल्तीको उडान हुने रुट काठमाडौँ, नेपालगन्ज, धनगढी र सुर्खेत हो।

सन् २०२४ घरेलु वायु सेवा बजारमा श्री एयरलाइन्सको बजार हिस्सा १५.५२ प्रतिशत छ। अघिल्लो वर्ष सन् २०२३ मा १४.५८ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS