काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा दुई महिनाको अन्तरालमा दुई जना नेपाली छात्राले आत्महत्या गरेको घटना प्रकाशमा आएपछि नेपाली विद्यार्थी र अभिभावक सशंकित बनेका छन् ।
उडिसा राज्यको केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बिहीबार बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा १९ वर्षिया प्रिसा साह झुन्डिएको अवस्थामा फेला परेकी छिन् । उनी मधेश प्रदेशको वीरगञ्ज शहर निवासी हुन् ।
दुइ महिनाको अन्तरालमै थप एक नेपाली विद्यार्थीले आत्महत्या गरेपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारवाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको हो।
यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सरकारको मौनताप्रति प्रश्न उठाएको छ । एबीभीपीका राष्ट्रिय महासचिव वीरेंद्रसिंह सोलंकीले भनेका छन्, “पुनः यस्तो गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार किन चुप लागिरहेको ?” उनले घटनालाई ‘घिनलाग्दो र लाजमर्दो’ भन्दै कडा टिप्पणी गरे ।
ओडिसा पूर्वकी एबीभीपी राज्य सचिव दीप्तिमयी प्रतिष्ठारीले विश्वविद्यालयमा आत्महत्याका घटनाहरू पटक–पटक हुनुले यसको विश्वसनीयता माथि प्रश्न उठेको बताइन् । उनले तत्काल विश्वविद्यालय प्रशासनमाथि कडा कारबाहीको माग गर्दै मृतक छात्रालाई न्याय दिनुपर्ने माग गरिन् ।
गत फागुन महिनामा केआईआईटीकै छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शव फेला परेको थियो । उनको हत्या भएको भन्दै नेपाली विद्यार्थीले दोषीलाई पक्राउ र कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेपछि नेपाली विद्यार्थीमाथि दमन भएको थियो । उनीहरूलाई विश्वविद्यालय छोडेर स्वदेश फर्किन बाध्य बनाइएको थियो। होस्टलको वार्डेनले विरोध प्रदर्शनमा सहाभगि नेपाली विद्यार्थीहरूलाई कारवाही गर्ने चेतावनी दिंदै नतिजा राम्रो नहुने भन्दै धम्क्याएकी थिइन् ।
गुणस्तरिय उच्च शिक्षाको अध्ययनका लागि भारतीय विश्वविद्यालयमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीहरूलाई पछिल्लो समयमा लगातार शारीरिक तथा मानसिक यातना दिने घटना बढेको छ। छोटो अवधिमै उही विश्वविद्यालयको छात्रावासमा नेपालका दुई छात्राले ज्यान गुमाएको घटनाले भारतीय विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरू असुरक्षित महशुस गरिरहेका छन् ।

















