IME Life New

शेयर बजार नियामक सेबोन आफैँ सुस्त, नियामकीय प्रावधान कार्यान्वयन फितलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) आफैँ सुस्त बनेको छ। सेबोनमा नयाँ अध्यक्षहरु आउँदा शेयर बजार विस्तार र विकासको थुप्रै अजेन्डामा प्रतिबद्धता जनाउँछन्। तर, सेबोन आफैँ भने आन्तरिक व्यवस्थापनमा सुस्त रहनुका साथै नियामकीय प्रावधान कार्यान्वयनमा फितलो बनेको छ।

गएको साउनयता शेयर बजार थुप्रै घटनाक्रम भए तर सेबोनबाट आफूमातहतका सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी (ब्रोकर), सीडीएससी र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई कुनै पनि प्रकारको कारबाही भएको देखिँदैन। सेबोनबाट कसैलाई कारबाही नभएको भन्दैमा शेयर बजार पारदर्शी वा आफ्नै लयमा चलेको छ भन्ने विश्वास भने गरिहाल्ने अवस्था छैन। पछिल्लोपटक गत साउनको दोस्रो साता ८४ वटा कम्पनीले बेलैमा वित्तीय विवरण पेस नगरेको भन्दै कारबाही गरेको थियो।

Esewa
Crest

अझै पनि बजारमा नियामकीय व्यवस्था उल्लंघन गरेका थुप्रै घटना भएका छन् तर सेबोनका अधिकारीहरु भने ‘कानमा तेल हालेर बसेको’ जस्तो देखिन्छ।

अर्कोतर्फ लगानीकर्ता वा सरोकारवालाले सेबोनबाट पाउनुपर्ने सूचना बेलैमा पाउँदैनन्। त्यतिमात्रै होइन उनीहरुले आफैँले फोन गरेर सेबोनका सूचना अधिकारीसँग आवश्यक सूचना माग गर्दा पनि आलटाल गर्ने अवस्था रहेको छ।

सेबोनमा रमेश हमाल अध्यक्ष भएर आउँदा कार्यालयमा निकै कडाइ गरेका थिए। त्यतिमात्रै होइन उनले कर्मचारीका फोन ट्रयाक गर्ने धम्कीसमेत दिएका थिए। उनी सेबोनबाट बाहिरिए पनि अझै कर्मचारी खुलेर कुरा गर्न सक्ने अवस्था छैन्। ‘जसको सरकार आउँछ, उसैको मान्छे अध्यक्ष भएर आउँछन्’, सेबोनका एक कर्मचारी भने, ‘आफूलाई मन नपरेको कुरा खुलेर विरोध गर्न सक्ने अवस्था छैन। उल्टै कारबाहीमा पर्ने हो कि भन्ने डर छ।’

शेयर बजारसम्बन्धी नियामकीय प्रावधानमा सुधार गर्न कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन भएको पनि लामो समय भइसकेको छ। तर, यो समितिले आफ्नो प्रतिवेदन तयार गर्न अझै सकेको छैन। यत्तिका महिना बित्दा पनि समितिले प्रतिवेदन तयार गर्न नसक्नुको कारणबारे सेबोनका अधिकारीहरुले खुलेर बोल्न चाहँदैनन्।

शेयर बजार नियामक सेबोनको आफ्नै वेबसाइट पनि वर्षौंदेखि अपडेट भएको देखिन्छ। तिनै साधारण शेयरको निष्कासन अनुमतिबाहेक अन्य जानकारी पुरानै रहेको देखिन्छ।

केही समयपहिले उच्चस्तरीय आयोगले अर्थ मन्त्रालयमा पेस गरेको प्रतिवेदनमा पनि सेबोनको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएको थियो। सेबोनको पूर्वाधार र प्रविधिमा पुनर्संरचनासँगै थप दक्ष जनशक्ति आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। ‘प्रतिवेदनमा औँल्याइएको कुरा ठीक हो, सेबोनको पूर्वाधार र प्रविधि निकै कमजोर छ, अझै पनि आफ्नै भवन छैन, किनेको जग्गा पनि विवादमा परेको छ’, सेबोनका एक अधिकारीले भने, ‘दक्ष जनशक्तिको पनि अभाव, जनशक्ति पर्याप्त नहुँदा अनुगमन र सुपरिवेक्षणको काम प्रभावित भइरहेको छ।’

सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले सेबोनबाट हुनुपर्ने कामहरु भइरहेको बताए। ‘बजार थप व्यवस्थिति बनाउन नीति–नियममा संशोधन गर्नका लागि आवश्यक अध्ययन भइरहेको छ’, उनले भने।

प्राविधि पक्ष सुधारका लागि पनि काम भइरहेको घिमिरेले बताए। ‘सामयसापेक्ष सुधारका लागि आवश्यक काम भइरहेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS