IME Life New

शेयरधनी खुशी पार्न म्यादी बीमालेख बिक्रीमा केन्द्रित हुँदै जीवन बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सकाठमाडौं । शेयरधनीलाई छोटो समयमा प्रतिफल दिनुपर्ने दबाबमा रहेका जीवन बीमक पछिल्लो समयमा अल्पकालीन दायीत्व निहित भएको म्यादी प्रकृतीका जीवन बीमालेखको बिक्रीलाई पनि प्राथमिकतामा पार्न थालेका छन् ।

चुक्तापुँजी वृद्धिसँगै लगानीकर्ताको अपेक्षा पूरा गर्न छोटो र छरितो बाटोको खोजी गर्ने क्रममा जीवन बीमकले अहिले बढीमा १ वर्ष अवधिका लागि जारी गरिने म्यादी र लघु जीवन बीमालेख बिक्रीलाई प्राथमिकता दिन थालेका हुन् । म्यादी बीमालेखको बचतवापतको सतप्रतिशतै रकम शेयरधनीलाई बाँडफाँट गर्न सकिने प्रावधान छ। सावधिक प्रकृतिका परम्परागत बीमालेखको बिक्रीबाट प्राप्त हुने बचत र प्रतिफलको ९० प्रतिशत रकम बीमित र बाँकी १० प्रतिशतमात्र शेयरधनीलाई वितरण गर्न पाइन्छ।

Esewa
Crest

झण्डै ५० प्रतिशतले बढ्यो म्यादी बीमाको आम्दानीः

नेपाल बीमा प्राधिकरणका अनुसार, गत  चालू आर्थिक वर्ष २०८०।८१ को फागुन मसान्तसम्मको तुलनामा  २०८१।८२ को फागुन मसान्तसम्ममा जीवन बीमकको म्यादी बीमाशुल्क आम्दानी झण्डै ५० प्रतिशतले बढेको छ। चालू आवको फागुनसम्ममा वैदेशिक रोजगारी म्यादी समेत कुल ७ अर्ब १५ करोड ३८ लाख २५ हजार रूपैयाँ म्यादी बीमाशुल्क आर्जन गरेका छन् । यस्तो रकम गत आव २०८०।८१ मा जम्मा ४ अर्ब ७७ करोड ७९ लाख ३६ हजार रूपैयाँ रहेको थियो। यस अवधिमा लघु जीवन बीमकको बजार प्रवेशसँगै वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या वृद्धिले पनि बीमाशुल्क वापतको आम्दानीमा वृद्धि दर्ज भएको हो।

बीमकको जुधाइ, लघु वित्तको रजाइँ

जीवन बीमकबीचको अस्वस्थ्य प्रतिस्पर्धाको फाइदा चाहिँ लघु वित्त र सहकारी संस्थाहरूले लिई रहेका छन्। एकदमै न्यून बीमाशुल्कमा जोखिम बहन सम्झाैता गर्न बाध्य बनाउने र वार्षिक कारोबार अंकका आधारमा गैर कानूनीरूपमा थप कमिशनका लागि जीवन बीमकलाई दबाब दिने काम लघु वित्तले गरिरहेका छन् । यसका बावजुद छोटो समय अवधिमै नाफा बुक गर्न पाइने आकर्षणले जीवन बीमकको उच्च व्यवस्थापन र सञ्चालक समिति दुबैलाई म्यादी बीमाको कारोबारले आकर्षित गरिरहेको छ।

लघु बीमकले एउटै ऋणीको फरक फरक जीवन बीमकमा बीमा गरेर मृत्यु दाबी वापतको अनुचित लाभ उठाइ रहेको अवस्था छ। लघु वित्तले लघु बीमाको व्यवसाय सुनिश्चित गरिदिएवापत अधिक उमेरका वा दीर्घ रोगी वा घातक रोगबाट पीडित ऋणीको मृत्यु दाबीबाट जीवन बीमकलाई झड्का दिंदै आएका छन् ।

वैदेशिक रोजगार म्यादी बीमाको कारोबारमा विकृती अंकुश लगाउन बीमा पुल सञ्चालनमा ल्याएको नेपाल बीमा प्राधिकरणले अब म्यादी बीमाको व्यापारमा भइरहेको विकृती नियन्त्रणका लागि पनि केही सुधारात्मक कदम चाल्नुपर्ने अवस्था छ।

थोरै पैसामा धेरै रकमको बीमाः

म्यादी जीवन बीमालेखमार्फत थोरै बीमाशुल्कको भुक्तानीमा बीमितले ठूलो बीमांक बराबरको जोखिम बहनको सुविधा प्राप्त गर्छन्। नेपालको बीमा बजारमा ७० प्रतिशतभन्दा अधिक जनसंख्या बीमाको लाभबाट वञ्चित रहेकाले म्यादी जीवन बीमालेख महत्वपूर्ण छ।

बाध्यकारी बीमामा मात्र सीमित बजारः

जीवन बीमकले गरिरहेको म्यादी बीमाको बजारीकरण अभ्यासले सहज माध्यम र बाध्यकारी नियमाकीय प्रावधानका कारण गर्नैपर्ने म्यादी बीमामा मात्र केन्द्रित छन।लघुवित्त वित्तीय संस्था र सहकारीले वितरण गर्ने कर्जाको सुरक्षाका लागि म्यादी बीमा अनिवार्य हुन्छ। वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगारी म्यादी बीमा अनिवार्य हुन्छ। निर्जीवन बीमामा तेस्रो पक्ष मोटर बीमा अनिवार्य हुन्छ। यिनै तीन प्रकारका म्यादी बीमालेखको बिक्री नै म्यादी बीमामा समेटिएको छ। यसबाहेक संगठित संस्थाका कर्मचारीको सामूहिक म्यादी बीमा वा दुर्घटना बीमा। यी बीमा बाध्यकारी बनाइएकाले बीमकले व्यापार गरिरहेका छन् । यी तीनखाले बाहेक अन्य प्रकृतिका बीमालेखको बिक्रीमा बीमकको चासो छैन।

पछिल्लो समयमा वैदेशिक रोजगार म्यादी बीमालेखको बिक्रीमा केही जीवन बीमक आक्रामक रुपमा लागेका छन्। यो बीमालेखको बिक्री, जोखिम र प्रतिफल वितरणका लागि बीमा पुलको प्रावधान ल्याइए पनि अझैसम्म पूर्ण कार्यान्वयनमा आएको छैन।

मुनाफामा सरिक नहुने बीमालेख प्रकृतिका बीमालेखको शत प्रतिशत बचत शेयरधनीबीच बाँडफाँड गर्न मिल्ने भएकाले शेयरधनीका लागि परम्परागत सावधिक प्रकृतिको बीमालेखभन्दा म्यादी बीमालेख लाभदायक छ।

यस्तो छ नियामकीय प्रावधानः

नेपाल बीमा प्राधिकरणले जारी गरेको रिस्क बेस्ड क्यापिटल एन्ड सोल्भेन्सी डाइरेक्टिभ २०२४ (२०८१) को दफा १० को उपदफा २ मा बीमांकीबाट निर्धारणपछि प्राधिकरणले प्रत्येक आर्थिक वर्षमा मुनाफामा सरिक नहुने प्रकृतिका बीमालेखको बचतवापतको शत प्रतिशत रकम शेयरधनी कोषमा सार्न सकिने प्रावधान छ। यही प्रावधानका कारण बीमकको उच्च व्यवस्थापनले जोखिम मोलेरै भए पनि म्यादी बीमालेखको बिक्रीमा हात हाल्न थालेको छ।

म्यादी जीवन बीमालेखको बिक्रीमा नियामकले अभिकर्ता कमिसन वा व्यवस्थापन खर्चको सीमा परम्परागत बीमालेखको तुलनामा सीमित राखेको छ। अर्कोतर्फ नेपालको बीमा बजार म्यादी बीमालेखको बिक्रीका हिसाबले सानो छ। यहाँ सीमित संख्यामा बीमालेख बिक्री हुँदा ठूलो संख्यामा दाबी परिहाले बीमाशुल्क कमाइभन्दा दाबीबापतको गुमाई बढी हुने जोखिम सधैँ कायम रहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS