IME Life New

विमान थपिएसँगै श्री एयरलाइन्सको व्यापारमा उछाल, लामो दूरीमा फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायु सेवाप्रदायक श्री एयरलाइन्स प्रालिले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो अर्धवार्षिक अवधिमा कारोबार अंकमा उल्लेख्य वृद्धि हासिल गरेको छ। कुल सञ्चालन आय चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्री एयरलाइन्सले कुल २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार यो ६ महिनाको समीक्षा अवधिमा कारोबार आम्दानीमा कुल २७ प्रतिशतको वृद्धि देखिएको छ। एयरलाइन्सको करपछिको नाफा गत आर्थिक वर्ष २०८०।८१ मा १२२ प्रतिशतले बढेर ३५ करोड ७० लाख रूपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षमा यसको अपरिष्कृत नाफा ३५ करोड ७० लाख रुपैयाँ पुगेको छ। एयरलाइन्सले कर पछिको नाफा अन्तरमा १०.२५ प्रतिशतले सुधार भएको छ।

Esewa
Crest

सञ्चालन मार्जिन गत आर्थिक वर्षको २७ प्रतिशतबाट चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा ३४ प्रतिशतमा उल्लेखनीय रुपमा विस्तार भएको छ। रेटिङ एजेन्सीका अनुसार इन्धनमैत्री क्यू ४०० मोडलका जहाज भित्र्याएपछि यसको सञ्चालन लागतमा सुधार देखिएको हो।

श्री एयरलाइन्सले ३ वटा क्यु ४०० मोडलको टर्बोप्रप्स विमान थपेपछि यसको बेडामा १० वटा जहाज र ८ हेलिकप्टरसहित कुल १८ विमान छ। हेलिकप्टरको तुलनामा ठूला विमानबाट प्राप्त आम्दानीले ठूलो हिस्सा ओगटेको छ। कुल कारोबार आम्दानीमा ठूला विमानको उडानबाट प्राप्त राजश्वको योगदान ८९ प्रतिशत रहेको छ। बाँकी योगदान हेलिकप्टरको उडानबाट प्राप्त भएको छ। हेलिकप्टरबाट हुने छोटो दूरीको उडानबाट कम्पनीको कारोबारमा ठूलो योगदान नगरेपनि यसले विदेशी मुद्राको सटही दरमा हुने उतार चढावको झड्का थेग्न सघाएको छ।

श्री एयरलाइन्स यात्रु संख्याका आधारमा १६ प्रतिशत बजार हिस्सा ओगटेको छ। यसको अधिकांश उडान धनगढी, नेपालगञ्ज र सुर्खेतमा केन्द्रित छ। तुलनात्मक रुपमा लामो दूरीको यो रुटमा श्री एयरलाइन्सका जहाजले प्रतिस्पर्धी बुद्ध एयरको एटीआर विमानको तुलनामा कम्तीमा १५ मिनेट चाँडो उडान पूरा गर्छ। नेपालगन्ज र धनगढी रुटको आम्दानीले यसको आम्दानी गत आवमा ५९ प्रतिशतको उल्लेख्य योगदान गरेको थियो। काठमाडौं–सुर्खेत र काठमाडौं–पोखरा रुटमा पनि उडान भर्न थालेपछि यो आर्थिक वर्षमा धनगढी र नेपालगन्जसम्मको उडानको योगदान ५१ प्रतिशतमा झरेको छ।

श्री एयरलाइन्ससँग भएका विमानहरुले पर्याप्त इन्धन खपत गर्ने भएकाले छोटो दूरीको भन्दा पनि लामो दूरीको उडानका लागि मात्र यसको जहाज आर्थिक हिसाबले उपयुक्त छ। सिमरा, भरतपुर, जनकपुरलगायतका सानो दूरीका मार्गमा उडान भर्दा यसको आम्दानीको तुलनामा खर्च अधिक हुने भएकाले यसले लामो दूरीको उडानलाई प्राथमिकतामा राख्दै आएको छ।

एयरलाइन्सले नयाँ विमानको खरिदमा कुल ३ अर्ब रुपैयाँ लगानी गरेकोले यसको पुँजी र ऋणबीचको अनुपात ३.२४ गुणा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा उड्डययन इन्धन लागत कुल सञ्चालन खर्चको ५१ प्रतिशतबाट ५३ प्रतिशतमा उक्लिएको छ। यसले विश्वव्यापी कच्चा तेलको मूल्यमा हुने उतारचढावका कारण नाफामा हुने प्रभावलाई इंगित गर्छ।

कुनै ठूलो पुँजीगत खर्च योजना नगरिएको श्री एयरलाइन्सले उडान मार्ग विस्तार र सञ्चालन दक्षतामार्फत ऋण घटाउने र नाफा बढाउने लक्ष्य राखेको छ। इन्धन मूल्यको उतारचढाव र प्रतिस्पर्धात्मक दबाबका बीचमा व्यापार र नाफाको वृद्धिलाई कायम राख्ने एयरलाइन्सको क्षमता यसको प्रगतिका लागि महत्वपूर्ण हुनेछ भन्दै इन्फोमेरिक्स नेपालले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

इन्फोमेरिक्स नेपालले वित्तीय सबलता मूल्यांकनका आधारमा ४ अर्ब ३६ करोड ८० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि साबिकको ‘डब्बल बी’को साटो ‘त्रिपल बी’ क्रेडिट रेटिङ दिएको छ। यसैगरी १ अर्ब ४२ करोड ३७ लाख अल्पकालीन कर्जाका लागि साबिकको ‘ए फो’ को साटो ‘ए थ्री’ रेटिङ प्रदान गरेको छ। यी दुवै रेटिङले साबिकको भन्दा सबल वित्तीय अवस्थालाई इंगित गर्ने रेटिङ एजेन्सीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS