काठमाडौं । सरकारी स्वामित्वको भारतीय बीमक, भारतीय जीवन बीमा निगम (एलआइसी) ले महिलाहरूको रोजगारीसँगै जीवन बीमाको प्रवर्द्धनका लागि विशेष कार्यक्रम लागू गरेको पनि झण्डै तीन महिना हुन लागेको छ। जीवन बीमालेख बिक्री गर्ने काममा महिला परिचालनका लागि लागू गरिएको यो कार्यक्रममा महिलाहरू अभिकर्ताले प्रति महिना कम्तिमा भारू ७,०००(११ हजार २ सय रुपैयाँ) न्यूनत्तम भत्ता उपलब्ध पाई रहेका छन् ।
भारत सरकारले सन् २०४७ सम्ममा सबै भारतीय नागरिकलाई बीमाको दायरामा समेट्ने महत्वकांक्षी लक्ष्य लिएको छ। त्यसै लक्ष्य अन्तर्गत सरकारी स्वामित्वको यो जीवन बीमकले महिला अभिकर्तामार्फत दुर्गम भेग र अति विपन्न नागरिकको घर परिवारसम्म बीमाको जागरण फैलाउन र उनीहरूलाई बीमामा आबद्ध गराउने उद्देश्य बोकेको छ। बीमा व्यवसायमा योगदानका अतिरिक्त न्यूनत्तम भत्ता रकमले महिला अभिकर्तालाई यातायात खर्च र घर खर्च जुटाउन मद्दत गर्ने भएकाले उनीहरूले यो पेशालाई निरन्तरता दिन सक्ने आशा एलआइसीको छ।
एलआइसी बीमा सखी: यो योजना के हो?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष डिसेम्बरमा शुरू गरेको एलआइसीको ‘बीमा सखी’ विशेष रूपमा महिलाहरूको लागि एक छात्रवृत्ति योजना हो। यो योजना महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन शुरू गरिएको हो।
सखीका रूपमा अभियानमा सहभागी महिलाहरूलाई बीमा कम्पनीले जीवन बीमालेख बिक्रीको सम्बन्धमा सघन तालिम दिनेछ। यसरी तालिममा सहभागि भइ सकेपछि उनीहरू एलआइसीको अभिकर्ताका रूपमा आफ्नो गाउँ घरमै काम गर्नेछन् । एलआइसीले ‘बीमा सखी’ योजनाले भारतका अति विपन्न घरपरिवारहरूको बीमा पहुँचमा सुधार गर्नेछ।
यस योजनाको लागि योग्य हुन, एक महिला १० कक्षा उतीर्ण हुनुपर्छ र १८-७० वर्षको उमेर समूहमा पर्नुपर्छ। ‘बीमा सखी’हरूमध्ये कसैले स्नातक तहको अध्ययन पूरा गरेका छन् भने उनीहरूले इजाजत प्राप्त एलआईसी एजेन्टको रूपमा काम गर्ने अवसर पाउनेछन् । कम्पनी भित्र जीवन बीमा विकास अधिकारीको जागिरका लागि पनि योग्य हुन सक्छन्।
एलआईसी बीमा सखीको भत्ताः
यो योजना अन्तर्गत, एलआईसीले बीमालेख बिक्रीबाट प्राप्त हुने कमिशनका अतिरिक्त ‘बीमा सखी’ का लागि पहिलो तीन वर्ष न्यूनत्तम पारिश्रमिक सुनिश्चित गर्नेछ। बीमा सखीको अनुमानित मासिक आय भारू ७,००० बाट शुरू हुनेछ। पहिलो वर्षमा, उनीहरूले प्रत्येक महिना रु ७,००० प्राप्त गर्नेछन्। दोस्रो वर्षमा, मासिक भुक्तानी भारु ६,००० हुनेछ। तेस्रो वर्ष भारु ५,००० मा घट्नेछ।
यद्यपि, दोस्रो वर्षमा भत्ताको लागि योग्य हुन, एक व्यक्तिले पहिलो भत्ता वर्षमा कम्तिमा ६५ प्रतिशत बीमालेख नविकरण भएको हुनुपर्नेछ। यसैगरी, तेश्रो वर्षको भत्ताका लागि योग्य हुन दोस्रो वर्षमा पनि कम्तिमा ६५ प्रतिशत बीमालेख नविकरण भएको हुनुपर्नेछ।
‘बीमा सखि’ ले कम्तीमा २४ वटा जीवन बीमालेख बिक्री गर्नुपर्नेछ। यो बीमालेख बिक्रीबाट उनीहरूले कम्तीमा २४ हजार रूपैयाँ कमिशन आर्जन गरेको हुनुपर्ने शर्त छ। उनीहरूले भत्ताका अतिरिक्त कमिशन समेत प्राप्त गर्नेछन् ।
भारतमा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि आँगन बाडी सेविका सहायीका परिचालन गरिएको छ। यी महिला स्वयम सेविकाले नेपालमा महिला स्वास्थ्य स्वयमसेविकाले जस्तै गाउँ गाउँमा घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् । ‘बीमा सखी’ को परिचालन पनि महिला स्वयमसेविकाको प्रभावकारीताजस्तै उपलब्धीमूलक हुने एलआइसीको विश्वास छ।
भारतीय जीवन बीमा निगमले लागू गरेको ‘बीमा सखी’ को मोडल सफल भएको अवस्थामा नेपालमा पनि जीवन बीमा कम्पनीले बीमाको पहुँच बिस्तार गर्न यसको सिखो गर्न सक्छन्।
न्यून आय र कमजोर बचत क्षमता भएका घरपरिवारलाई बीमाको दायरामा समेट्ने उद्देश्यले पछिल्लो समयमा विश्वभर नै समावेशी बीमाको अवधारणा ल्याइएको छ। यस्तो अवधारणालाई सस्तो बीमाशुल्क र पर्याप्त जोखिम बहन गर्ने बीमालेख प्रचलनमा ल्याएर मात्र लागू गर्न संभव हुँदैन, यसका लागि घर घरमा बीमा सम्बन्धी जागरण पुर्याउनुपर्छ। सबैका लागि बीमा पहुँच योग्य छ भन्ने विश्वास दिलाउनुपर्छ, बीमा गरे दाबी तुरून्त पाइन्छ भन्ने विश्वास जित्न सक्नुपर्छ। यसका लागि ‘बीमा सखी’ जस्ता महिला स्वयसेविकाहरूको परिचालन नेपालको सन्दर्भमा पनि निक्कै नै प्रभावकारी औजार हुनसक्छ। नेपालमा महिला स्वास्थ्य स्वयमसेविकाले मातृशिशु मृत्यु दर नियन्त्रण र खोप अभियानको सफलतामा पुर्याएको योगदान विश्वभर नै प्रशंसित समेत छ।

















