काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ १ गतेबाट नगद लाभांश वितरण गर्न सुरु गरेको छ । संस्थाले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गर्न थालिएको जनाएको छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत करसमेत नगद लाभांश र ८ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म आफ्नो बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएकाहरूलाई यथाशीघ्र गराउनसमेत कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो । पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको नगद लाभांश प्राप्त गरेका हुन् ।
पुस १४ गतेसम्म आफ्नो शेयर बन्धक राखी कर्जा उपयोग गरेका सदस्यहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भइसकेको भए जानकारी गराउनसमेत कम्पनीले भनेको छ ।