काठमाडौं । भोलि पुस २९ गते ९ वटा कम्पनीहरुले साधारणसभा गर्दैछन् । भोलि महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, दोल्ती पावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स, कालिका लघुवित्त, आरएसडीसी लघुवित्त र रसुवागढी हाइड्रोपावरले भोलि साधारण सभा गर्दैछन् ।
महालक्ष्मी विकास बैंकले पुस २९ गते एलिस रिसेप्सन सुवर्ण सम्शेर मार्ग ग्रह्रीधारा काठमाडौंमा बिहान १० बजे सभा गर्ने जनाइएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
लुम्बिनी विकास बैंक लिमिटेडले पुस २९ गते, सोमबार, १७ औँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे शुरु गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, रसुवागढी हाइड्रोपावरले पुस २९ गते बाह्रौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ४ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट महलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरेको थियो । त्यसकारण बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ११ गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते सोमबार, १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभा होटल टास्क इन्टरनेशनलको सभाहर, पोखरा, बुद्धचोकमा गर्ने संस्थाले जनाएको छ । संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते सोमबार, ३० औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुने जनाइएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको कर सहित १.६८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.०९८२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने संस्थापक समूहतर्फ रिक्त रहेको १ जना सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले पुस १९ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान ११ बजे होटल सामनाको सभाहल मकवानपुर, हेटौडामा आयोजना गर्ने जनाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नवलपरासीको गैडाकोटस्थित सहमति संस्थामा हुने कम्पनीले जनाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै यस कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थालाई मर्जर र प्राप्ति गर्न उपयुक्त देखिएमा वित्तीय संस्थाहरूको पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण गरेको छैन ।
यता, दाल्ती पावर कम्पनी लिमिटेडलेचौथो वार्षिक साधारण सभा पुस २९ गते गर्दैछ । सभा मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वर काठमाडौंमा हुने कम्पनीले जनाएको छ । सभा दिउँसो १२ बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।