काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।
तथ्यांकअनुसार कात्तिकसम्म बजारमा ७ खर्ब ४५ अर्ब ९१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ३ महिनाको अवधिमा नगद परिचालन ९.६९ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको ४ महिनामा सरकारी कोषको आकार १९९.३० प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। कात्तिकसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ९१ अर्ब ४१ करोड रुपैयाँको उचाइमा पुगेको छ।
कात्तिकसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो।
आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ८० करोड २२ लाख रुपैयाँ रहेको छ।