IME Life New

क्रेडिट रेटिङको नतिजाः नेपालको साख क्षमता उच्च रहेको संकेतः अर्थ मन्त्रालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसा पौडेलले क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनुपर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको बताए। ‘यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ’, उनले भने।

Esewa
Crest

सार्वभौम क्रेडिट रेटिङमा मूलतः अर्थतन्त्रका चार क्षेत्रहरु अर्थतन्त्रको संरचनगत पक्ष, समष्टिगत आर्थिक उपलब्धि, सार्वजनिक वित्त र बाह्य क्षेत्रका आर्थिक परिसूचकको विस्तृत रुपमा लेखाजोखा गर्ने गरिन्छ। मुलुकको सार्वभौम क्रेडिट रेटिङ गर्दा यस्ता पक्षहरुलाई विभिन्न सार्वभौम रेटिङ मोडल र गुणात्मक मापन विधिबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी प्राप्त स्कोरलाई न्यूनतम ‘डी’देखि अधिकतम ‘एएए (त्रिपल ए)’सम्म रेटिङ्ग प्रदान गर्ने गरिन्छ। त्रिपल एले मुलुकको हाई क्रेडिट क्वालिटी रहेको देखाउँदछ भने डीले डिफल्टको अवस्थालाई इंगित गर्दछ। उक्त प्रक्रियाबमोजिम फिच रेटिङ्सले नेपालको आर्थिक संरचना, सार्वजनिक वित्तको अवस्था, आन्तरिक तथा वैदेशिक ऋणको अवस्था, मौद्रिक तथा वित्तीय क्षेत्रका सूचकहरुको अवस्था, बाह्य क्षेत्रका आर्थिक परिसूचकहरु, १६औँ योजनाले परिलक्षित गरेका आर्थिक वृद्धिको मध्यकालीन तथा दीर्घकालीन खाकालगायतका विवरण र तथ्यांकको विश्लेषण गरेको थियो। यसका साथै गुणात्मक मूल्यांकनको चरणअन्तर्गत फिचको विज्ञ समूहबाट गत सेप्टेम्बर ११–१३ मा नेपालको स्थलगत भ्रमण भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका उच्च पदाधिकारहरुसँग परामर्श र छलफल गरेको थियो भने निजी क्षेत्र र नेपाल स्थित द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार निकायका अधिकारीहरुसँग समेत परामर्श गरेको थियो।

नेपालले प्रस्तुत गरेको पुर्वाधार विकासको मध्यकालीन र दीर्घकालीन योजनाको कार्यान्वयनको मूल्यांकन गर्न नमुनाका रुपमा नागढुंगा सुरुङमार्गको अवलोकनसमेत गरेको थियो। हाल फिच रेटिङ्सको टोलीले नेपालको सार्वभौम क्रेडिट रेटिङ गरी सोको प्रतिवेदन प्रेषित गरेको छ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारका रुपमा लिने गर्दछन्। यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्तासमक्ष पुर्याउने गर्दछ। यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुला रुपमा मूल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ।

नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको मन्त्री पौडेलले बताए। ‘सार्वभौम क्रेडिट रेटिङ्ग विगतका तथ्यांक विश्लेषणको नतिज मात्र नभएर भविश्यपरक दृष्टिकोणसमेत हो’, उनले भने, ‘यसले अर्थतन्त्रको भावी दिशा र सम्भावनाको आँकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पूर्ण रुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्दछ।’

क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ। यसले सरकार, निजी क्षेत्र र सम्पुर्ण लगानीकर्ताको लागि उत्साह सिर्जना गरेको अर्थ मन्त्रालयले जनाएको छ।

नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिन्छ। नेपालको सार्वभौम क्रेडिट रेटिङमा हाल प्राप्त गरेको नतिजाले नेपाल लगानीका लागि सहज वातावरण भएको स्थापित गरेकोले विदेशी लगानीकर्ताको विश्वास अभिवृद्धि हुन गई भावि दिनमा नेपालको पूर्वाधार, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रका ठूला आयोजनाहरुमा लगानी अभिवृद्धि हुने अपेक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS