काठमाडौं । गत असोजको दोस्रो साताको वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोको वितन्डाले ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण भएको क्षतिको बीमा दाबी पनि बीमा कम्पनीहरुमा पौने १२ अर्ब रुपैयाँ बढीको परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २८ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ४१८ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म बीमकहरुले ९०२ वटा दाबीको ६१ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ६५३ वटा दाबीको ८ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले ३९८ वटा दाबीको ४६ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
यसैगरी दोस्रोमा धेरै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०६ वटा दाबीको कम्पनीहरुले २ अर्ब ४३ करोड ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ३८ वटा दाबीको ३ करोड ११ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।
यसैगरी मोटर बीमा (निजी)तर्फ ८८७ वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३५० वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ३७ करोड ७९ लाख रुपैयाँ र २० करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ २८० वटा दाबीको ६ करोड १६ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ ९१ वटा दाबीको ४ करोड ३० लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।
त्यस्तै सामुद्रिक बीमातर्फ कम्पनीहरुमा २२ वटा दाबी (१ करोड ३७ लाख रुपैयाँ), कृषि बाली बीमातर्फ १३१ वटा दाबी (१ करोड १२ लाख रुपैयाँ), पशुपन्छी बीमातर्फ ५१ दाबी (१ करोड ६८ लाख रुपैयाँ) र विविधतर्फ २० वटा दाबी (६५ लाख ५२ हजार रुपैयाँ) परेका छन्। हालसम्म कम्पनीहरुले सामुद्रिक बीमातर्फ २ वटा दाबीको ७ लाख २१ हजार रुपैयाँ, कृषि बीमातर्फ ६५ वटा दाबीको २८ लाख ४० हजार रुपैयाँ, पशुपन्छी बीमातर्फ २१ वटा दाबीको २४ लाख ९२ हजार रुपैयाँ र विविधतर्फ ७ वटाको १८ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेका छन्।