काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको मुनाफा ८६ प्रतिशतले घटेको देखिएको छ । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कुल १६ करोड ६५ लाख ८० हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले कुल १ अर्ब १९ करोड १५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका थिए ।
६ कम्पनीको नाफामा बृद्धि
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ वटा निर्जीवन बीमा कम्पनीको नाफा बृद्धि भएको छ । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले १५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १३ प्रतिशतले बढेको हो ।
शिखर इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा २ दशलमव ५१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ११ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस अवधिमा ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले यस अवधिमा ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यसको नाफा १९ प्रतिशतले बढेको हो ।
प्रभु इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा यस अवधिमा ५ करोड ६० लाख कमाएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले यस समीक्षा अवधिमा ५ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५० प्रतिशतले बढी हो ।
चार कम्पनी घाटामा
कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण हेर्दा ४ वटा कम्पनी घाटामा रहेको देखिन्छ । जसमा यूनाइटेड अजोड इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र ओरिएण्टल इन्स्योरेन्स घाटामा रहेका छन् । अघिल्लो वर्षको यसै अवधिमा ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको यूनाइटेड अजोड इन्स्योरेन्स समीक्षा अवधिमा १ करोड ८१ लाख रुपैयाँ घाटामा रहेको छ ।
अघिल्लो वर्ष ५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स समीक्षा अवधिमा ८ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।
यता, नेशनल इन्स्योरेन्सले अघिल्लो वर्षको यसै अवधिमा २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएकोमा समीक्षा अवधिमा १८ करोड ३ लाख घाटामा रहेको छ ।
ओरिएण्टल इन्स्योरेन्सले अघिल्लो वर्षको यसै अवधिमा १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएकोमा यस अवधिमा २४ करोड ५१ लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।
चार कम्पनीको नाफा घट्यो
अघिल्लो वर्षको यसै अवधिको तुलनामा ४ कम्पनीको नाफा घटेको छ । नेको इन्स्योरेन्सले समिक्षा अवधिमा ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनकिो नाफा १९ प्रतिशतले घटेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले अघिल्लो वर्ष १४ करोड नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ६ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले घटेको हो ।
एनएलजी इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको तुलनामा ४ दशलमव ९७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस समीक्षा अवधिमा ४ करोड ८९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
नेपाल इन्स्योरेन्सको पनि अघिल्लो वर्षको तुलनामा नाफा ९२ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिमा १ करोड ४ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।