काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते, शनिबार, पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा होटल माला ईन, घोराही, दाङमा बिहान ११ बजे शुरु हुने लघुवित्तले जनाएको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यसकारण पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन ।