IME Life New

बालबालिकाको जीवन बीमालेखमा किन कठोर बन्यो बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबालिकाको जीवन बीमा सम्बन्धमा कडाईका साथ लागू गरेको नयाँ प्रावधानका कारण केही जीवन बीमा कम्पनीहरुको प्रोडक्ट प्रोफाइलबाट बाल विशेष बीमालेख नै गायब छ। प्राधिकरणले जीवन बीमाको ब‌ीमा‌ंक रकमका लागि नै बालबालिकाको ज्यान जाने खतरा नहोस् भन्ने उद्देश्यले बीमाको दाबी सम्बन्धमा केही विशेष प्रावधानहरु लागू गरेको छ।

प्राधिकरणले गत म‌ंसिर देखि जीवन बीमालेख निर्देशिका २०७९ अन्तर्गत अनुसूची २ मा समेटिएको बालबालिकाको बीमालेख सम्बन्धी प्रावधान कडाईका साथ लागू गर्दै प्रावधान अनुकूल नभएका सबै जीवन बीमालेखहरुको बिक्री बन्द गरि दिएको छ। प्राधिकरणको निर्देशनको अटेर गर्दै नयाँ प्रावधान अनुसारको बीमालेख तयार नपारेका जीवन बीमकले अहिले बालबालिका सम्बन्धी बीमालेख बिक्री बन्द गर्नुपरेको छ ।

Esewa
Crest

नयाँ प्रावधानको पालना गर्न चुक्दा नेशनल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, सन नेपाल लाइफ, हिमालयन लाइफ र प्रभू महालक्ष्मी लाइफले बालबालिका जीवन बीमालेख बिक्री गर्न पाएका छैनन् । बीमा प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा, नेशनल लाइफ, सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले अझैसम्म पनि बालबालिका जीवन बीमालेख स्वीकृतिका लागि निवेदन दिएका छैनन् । जीवन बीमालेख निर्देशिकाको दफा ५(४) सँग सम्बन्धित प्रावधान पालना गर्दै नयाँ बाल बीमालेख तयार पारेका एशियन लाइफ, सिटिजन लाइफ, मेट लाइफ र सूर्य ज्योति लाइफ इन्स्योरेन्सले कात्तिक महिनाको प्रारम्भमै बीमालेख बिक्रीको स्वीकृती पाई सकेका थिए ।

जीवन बीमा कम्पनीको सावधिक बीमालेखको कारोबार अन्तर्गत बालबालिका सम्बन्धी बीमालेखले करिब २८ प्रतिशत व्यापार ओगटेको छ। बीमा कारोबारमा यति महत्वपूर्ण हिस्सा ओगटेको बालबालिकाको बीमालेख बिक्री हुँदा गत कात्तिक देखि म‌ंसिर महिनासम्मको व्यापारमा पनि नकारात्मक प्रभाव समेत देखिएको छ।

जीवन बीमालेख निर्देशिका २०७९ को अनुसूची २ मा  बालबालिकाको बीमालेख सम्बन्धी निर्देशनमा जोखिम प्रारम्भ मिति अगावै बीमित बालबालिकाकाे निधन भएको अवस्थामा बीमाशुल्क रकम फिर्ता गर्ने र बीमालेख रद्ध गर्नुपर्ने प्रावधान छ। यो बीमालेख अन्तर्गत बीमा गरिएको २ वर्ष पुरा भएपछि वा बालबालिकाको उमेर ६ वर्ष पुरा भएपछि(यी दुबै अवस्थामध्ये जुन ढिलो गरी हुन्छ) मात्र बालबालिकाको जोखिम बहन शुरु हुन्छ । जोखिम बहन शुरु हुनु अगावै बीमित बच्चाको निधन भयो भने अभिभावकले आफूले भुक्तानी गरेको बीमाशुल्क रकम मात्र फिर्ता पाउनेछन्, अरु कुनै पनि दाबी बीमा कम्पनीले दिनेछैन र बीमालेख रद्ध हुनेछ(हेर्नुहोस् बुँदा न‌ं. ३)।

मधेश प्रदेशको रौतहटमा जीवन बीमाको २० लाख रुपैयाँ पाउने लोभमा अभिभावकले आफ्नै नाबालक सन्तानको निर्ममतापूर्वक हत्या गरि दिएको घटना पछि प्राधिकरणले जीवन बीमा गरेकै कारण बालबालिकाको ज्यान जाने अवस्था फेरि दोहोरिनु हुँदैन भन्ने उद्देश्य लिएर बच्चाको निधनबाट अभिभावकले लाभ नपाउने गरी बीमालेखको प्रावधानहरु लागू गरिदिएको छ।

यसबाहेक जोखिम प्रारम्भ भई सकेपछि पनि बीमा‌ंक रकमको २५ प्रतिशत, मृत्यु हुँदाको दिनसम्मको बोनश रकम वा भुक्तानी भएको बीमाशुल्क मध्ये जुन बढी हुन्छ त्यति रकम मात्र बीमकले भुक्तानी गर्नुपर्ने प्रावधान समेत समेटिएको छ(हेर्नुहोस् बुँदा नम्बर ४)।

बालबालिकाको जीवनसँग सम्बन्धित तेश्रो शर्तमा अभिभावकको निधनसँगै बीमित बालबालिकाको समेत निधन भएमा बालबालिकाको निधनवापत बीमा‌ंकको जम्मा २५ प्रतिशत रकम मात्र भुक्तानी दिइने प्रावधान उल्लेख छ(हेर्नुहोस् बुँदा नम्बर ६)।

यसबाहेक अभिभावकको निधन पछि बीमित बालबालिकाको निधन भएको अवस्थामा बीमा‌ंकको २५ प्रतिशत र आर्जित बोनश रकम वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ सो रकम भुक्तानी गर्नुपर्ने प्रावधान छ, यस्तो भुक्तानीपछि बीमालेख रद्ध हुनेछ(हेर्नुहोस् बुँदा नम्बर ७)।

बालबालिका सम्बन्धी जीवन बीमालेखको प्रावधानमा अभिभावकको निधन भएको अवस्थामा बाँकी अवधिको बीमाशुल्क रकम मिनाहा हुने, बीमित बच्चाको पढाईका लागि बीमा‌ंकको १ प्रतिशत रकम मासिक पढाई खर्च वापत दिइने र बीमा अवधि पुरा भएपछि पुरै बीमा‌ंक र बोनशवापतको रकम एक मुष्ठ भुक्तानी दिइने प्रावधान समेत छन् । यी प्रावधानहरुले अभिभावकको अनुपस्थितिमा पनि बच्चाको पढाईलाई निरन्तरता दिन र भविष्यमा उच्च शिक्षाका लागि आवश्यक पर्ने ठूलो रकम एक मुष्ठ जोहो गर्न सहज बनाउँछ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बालबालिकाको जीवन बीमामा मोरल हजार्ड रिस्क (नैतिक जोखिम) उच्च देखिए पछि नियामकीय तहबाट नै हस्तक्षेप गर्नुपर्ने बाध्यता सिर्जना भएको बताए। उनले इन्स्योरेन्स खबरसँग भने, विगतमा बीमाको पैसाकै लागि बच्चाको हत्याका श्रृ‌ंखलाबद्ध घटना सार्वजनिक हुन थालेपछि गम्भीर हुन बाध्य बनायो।

जीवन बीमाको रकम दाबी गर्नका लागि अबोध बालकको हत्या भएको घटनालाई गम्भीररुपमा लि‌ंदै पहिलो पटक जीवन बीमालेख निर्देशिका २०७८ मार्फत् नै बालबालिकाको जीवन बीमालेख सम्बन्धी विशेष प्रावधान लागू गरेको थियो । जीवन बीमालेख निर्देशिका २०७८ मा बीमित बच्चाको निधन भएलगत्तै बीमा‌ंकको २५ प्रतिशत र बीमा अवधि पुरा भएपछि बाँकी ७५ प्रतिशत रकम भुक्तानी दिनुपर्ने प्रावधान रहेको थियो । जीवन बीमालेख निर्देशिका २०७९ मा पुराना प्रावधानलाई थप स‌ंशोधन गर्दै नयाँ प्रावधानहरु लागू गरेको हो।

प्राधिकरणले बालबालिकाको जीवनसँग सम्बन्धित प्रावधानहरूमार्फत् स्पष्ट सन्देश के दिन चाहेको छ भने कुनै पनि परिवारका सदस्यहरु आर्थिकरुपमा बालबालिकाहरु माथि नभएर परिवारको अभिभावकको कमाईमा निर्भर हुन्छन्,त्यसैले बीमित बच्चाको निधनमा अभिभावकले ठूलो रकम भुक्तानी पाउनुहुँदैन अर्थात् बच्चा गुमाएर आर्थिक लाभ प्राप्त गर्ने अवस्था हुनुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS