काठमाण्डौ । चालु खाता सवा ९६ अर्ब माथि बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्मको तथ्यांकले यस्तो देखाएको हो।
समीक्षा अवधिमा चालु खाता रु. ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई रु.१ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ३ अर्ब ६४ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४२ करोड ९२ लाख रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ।