काठमाडौं । नेपाल सरकारले बीमा क्षेत्रको पारदर्शिता र जवाफदेहितालाई अभिबृद्धि गर्न नियमनलाई सुदृढ गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता विकास गर्ने गर्ने किसिमका कार्यक्रम ल्याउने भएको छ । बीमा र लघु बीमाको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने सरकारले जनाएको छ ।
नेपाल सरकारले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा बीमालाई पनि जोड दिएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक बृद्धि हासिल गर्ने, रोजगारका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता कायम गर्ने तर्फ परिलक्षित हुने अर्थमन्त्री डा. प्रकाश शरण महतले जानकारी गराएका छन् ।
यसै क्रममा वित्तीय क्षेत्रलाई स्वस्थ एवम् प्रभावकारी बनाइने उनले जनाएका छन् । वित्तीय मध्यस्थता लागत कम गरी लगानीको लागि पूँजीमा पहुँच सहज बनाइने भएको छ । वैङ्क तथा वित्तीय संस्था, लघु वीत्त, वीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने छ। वित्तीय क्षेत्रका नियमनकारी निकायको संस्थागत क्षमता विकास गरिनेछ । सहकारी क्षेत्रको नियमनलाई सवल बनाउन नीतिगत र कानूनी सुधार गरिनेछ ।