Connect IPS
IME Life

के दुई दिने बिदाले साँच्चिनै बिगार गर्ला ? ईश्वर पोखरेलको लेख

SPIL
NIC ASIA new
Sanima Reliance

सार्वजनिक बिदाको अतिरिक्त हरेक देशमा सप्तहामा एक वा दुई दिन बिदा दिने प्रचलन छ । बिदा दिने प्रचलनमा धर्म र सन्स्कृति, र अन्य बिषयले प्रभाव पारेको पाईन्छ । क्रिश्चियन बाहुल्य रहेको देशहरुमा आईतवार पवित्र दिन भएकोले प्रार्थना गर्न आईतवार बिदा दिने चलन चलाइयो र कालान्तरमा मजदुरहरुको हक हितलाई मध्यनजर गरी शनिबार थप बिदा दिने ब्यबस्था गरि दुई दिन विदाको ब्यवस्था भएको पाइन्छ ।

बेलायत, अमेरिका वा बेलायतका वा अन्य युरोपियन देशको प्रभाव रहेका देशहरुमा शनिबार र आईतवार बिदा दिइन्छ । ईस्लाम धर्म मान्ने धेरै देशहरुमा शुक्रबार पवित्र दिन भएकोले शुक्रबार बिदा दिइन्छ । पछि शनिबार थप गरेर दुई दिनको चलन चल्यो । यमन र सोमलिया जस्ता देशहरुमा बिहीवार थप गरेर बिहीवार र शुक्रबार बिदा गरियो । अफगानिस्तान ईरान, इराक, कुवैत, साउदी अरब, बहराइन जस्ता ईस्लाम मुलुकमा शुक्रबार र शनिबार बिदा गरियो । हिन्दू, बौद्ध लगायत धर्म मान्ने मुलुकहरुमा यस्तो प्रचलन नभए पनि सार्वजनिक बिदाले विशेष धर्मिक दिनलाई ब्यबस्थापन गरिएको पाईन्छ । भारतमा शनिबार आधा दिन र आइतबार पुरा दिन बिदा दिइन्छ । चीनमा शनिबार र आईतवार साप्ताहिक बिदा हुन्छ ।

Prabhu
Crest

नेपालमा राणा प्रधानमन्त्री भिम शम्शेरले शनिबार बिदा दिने चलन चलाए यसको पछाडिको कारण  शनिबार सातौं बार हो र सप्ताहन्तमा बिदा दिनु राम्रो हो । शुक्रबार आधा दिन बिदा दिइन्छ  । नेपालमा पनि बि.स. २०५४ सालमा करिब ६ महिना दुई दिन बिदा दिने ब्यवस्था गरे पनि सो निर्णय फिर्ता लिईएको थियो । हाल पेट्रोलियम पदार्थको मुल्य वृद्धिको कारण  नेपाल आयल निगमको सिफारिस मुख्य कारण देखिए पनि २  दिन बिदा दिने बारेमा २०७७ सालमा संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित अध्ययन समितिको सिफारिस समेत ख्याल राखेको हुनसक्छ। उक्त समितिले संसारभरका १२७ देशको बिदा अध्ययन गर्दा ११६ देशमा ५ दिन कार्यालय संचालन र २ दिन बिदा निष्कर्ष निकालियो। ११ देशमा ६ दिन कार्यालय भएको पाइयो।  एशियामा भने ४३ देशको तथ्यांक पाएर विश्लेषण गर्दा ३८ देशमा ५ दिन कार्यालय संचालन भएको पाइयो , जुन आधारअनुसार   सरकारबाट  २०७९ जेष्ठ १, २०७९  देखि परिक्षणको रुपमा २  दिन बिदा दिने निर्णय भएको छ  ।

निर्णय भई सकेपछि  यसको पक्ष र विपक्षमा चर्चा चल्नु स्वाभाविक हो । फलस्वरुप यस विषयले अहिले पत्रपत्रिका, सामाजिक संजालमा सकारात्मक वा नकारात्मक  टिप्पणी  विश्लेषणहरु रमाइलोको रुपमा रङ्गिएका छन, भरिएका छन् । धेरैजसो आवाज बिदाको विरुद्धमा सुनिएका छन् । चाहे सामाजिक सञ्जालमा रमाइलोको लागि होस् वा विरोधमा बोल्नु पर्छ भनेर होस् वा जायज मनशायले नै किन नहोस् ।
मेरो दृष्टीकोषमा सप्ताहको दुई दिन बिदा घोषणा गरिनुको नकारात्मक भन्दा सकारात्मक पक्ष धेरै छन् । यी पक्षहरुबारे बिस्तारमा यहाँ चर्चा गरेको छु ।

१) यो कानुन सम्मत छ :
एक हप्तामा ४० घण्टा काम गर्नु पर्ने हाम्रो सरकारी प्रचलन छ हाम्रो श्रम ऐनले पनि र अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी १९१९ ले पनि सप्ताहमा बढिमा ४८ घण्टा र दिनमा बढीमा ८ घण्टा मात्र काममा लगाउनु पर्ने मापदण्ड बनाएको छ । अहिले ५ दिन कार्य गर्न प्रस्तावित व्यवस्थामा बिहान ९ः३० देखि बेलुकी ५ः३० सम्म दिनको ८ घण्टा नै हुन्छ । पहिले पनि आइतबारबाट बिहीबारसम्म १० देखि ५ ले ७ घण्टा प्रतिदिन हुन्थ्यो र शुक्रबार १० देखि ३ ले ५ घण्टा भएर हप्तामा ४० घण्टा नै काम हुन्थ्यो । अतः साप्ताहिक बिदा सम्बन्धी निर्णय कानून सम्मत नै छ । तर ४० घण्टा काममा लागेर सेवा प्रदान गरे नगरेको अनुगमन गर्नु भने अपरिहार्य हुन्छ ।

२. हाजिर गयल रोकिने र पारिवारिक दुरी कम हुने ।
बदलिंदो जीवन शैली र रोजगारीको लागी जन्मथलोबाट टाढिनुपर्ने बाध्यताका कारण नेपालमा पनि अहिले एकल परिवार (न्युक्लियर फेमिली) बढ्दै गएको छ । महँगी र खर्चिलो जीवनशैलीका कारण दम्पत्ति नै जागिरे हुनुपर्ने बाध्यता हुनेको संख्या पनि खासगरी शहरी क्षेत्रमा बढ्दो छ । पारिवारिक व्यवहार व्यवस्थापनका कतिपय आवश्यक्ता पूर्ति गर्न सप्ताहमा एक दिन शनिबार मात्र बिदा हुँदा पर्याप्त समय नभएर अनेक बहाना बनाई आशिंक समय वा पुरा समय गयल हुने वा कामै नगरे पनि हाजिर गर्ने (हा.टा.) परिपाटीले प्रश्रय पाएको हुनाले सप्ताहमा २ दिन बिदा हुँदा असल कर्मचारीहरुले आफ्नो घरको र परिवारको व्यवस्थापन राम्रोसँग गर्न सक्ने हुनाले कुनै काम गर्न बाकी रहेको भन्ने चिन्ता कम हुने हुँदा ५ दिन पुरा समय कार्यालय प्रति समर्पित भएर काम गर्न सक्ने भएकाले कामको सम्पादन राम्रो रहन्छ । आफैं खटिन सक्ने खेतबारी भएका कर्मचारीलाई यो बिदा खेतबारीमा कुटोकोदालो गरेर दाल भात डुकुको केही हदसम्म व्यवस्थापन सहज हुने देखिन्छ ।
घरदेखि टाढा बसोबास गर्ने परिवारका सदस्यहरु आफ्नो अभिभावकसँग नियमित भेटघाट गर्न समय पनि मिल्ने भएकाले सुमधुर पारिवारिक सम्बन्धबाट कर्मचारीको उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पार्नेछ ।

३. सामाजिक सदभाव र आन्तरिक पर्यटनमा वृद्धि
विश्वव्यापिकरणले ल्याएको प्रतिस्पर्धाले गर्दा कर्मचारीलाई मानसिक तनाव व्यवस्थापन गर्न उपयुक्त आराम र शान्तिपूर्ण वाताबरण चाहिने भएकोले दुई दिन मध्ये १ दिन गृहकार्य व्यवस्थापन गरी बांकी एक दिन नजिकको पर्यटकीइ गन्तव्यमा गएर परिवारिक सामन्जस्य वृद्धि भई र पारिवारिक सामाजिक सदभाव वृद्धि हुने छ । साथै आन्तरिक पर्यटनले देशको अर्थतन्त्रमा पनि केही टेवा दिने छ ।

४. गाँउ टोल सरसफाई र वातावरण सुधार
हाम्रो सामाजिक संरचनामा टोल समिति/गांउ समिति गुठी आदि रहेको तिनिहरुको बैठकमा उपस्थित भई अनुभव र ज्ञान साटासाट गरेर टोलको सुधार, सरसफाई, संरक्षण र हितका कुरा गर्ने सकिनेछ । जसले गर्दा सामाजिक रुपमा एकजुट भई वातावरणमा सुधार हुनेछ । साथै विदामा कम मात्रामा सवारी साधन । तथा कलकारखाना संचालन हुने हुदाँ वातावरणमा सुधार हुनेछ । वायू (धुवा, धुलो) , ध्वनी लगायतका प्रदुषण कम हुनेछन ।

५. कर्मचारीको मनोबल र स्वास्थमा सुधार
दुई दिन बिदाले वृत्ति विकासको लक्ष्य लिएर जागिर गरिरहेका कर्मचारीलाई पदोन्नतीको लागी आवश्यक अध्ययन अनुसन्धान गर्न पर्याप्त समय निस्कने हुँदा र ज्ञान आर्जन बढाउन सक्ने भएकोले कर्मचारीको मनोबल वृद्धि हुने हुन्छ जसले गर्दा कर्मचारी मात्र नभई उसंँग आश्रीत परिवारको समेत मनोबल र क्षमता वृद्धि हुन्छ । छोरा छोरीको अध्ययनमा र व्यक्तिगत सरसफाईमा सहयोग पुगेर उनीहरुको क्षमता वृद्धि हुन्छ । शारीरिक व्यायाम लगायत खेलकुदमा समेत संलग्न हुन सक्ने हुदाँ शारीरिक तथा मानसिक स्वास्थमा सुधार हुन्छ ।

६. व्यवसायिक कारोबारमा सहज
अन्तर्राष्ट्रिय ब्यापार ब्यवसाय, तथा अन्य कामहरु गर्दा नेपालको आइतबार कार्यालय खोल्दा प्रायः विदेशी कार्यालयहरु बन्द रहने भएकोले केही अप्ठयारो अवस्था थियो । सो असहजतामा सामान्य भएर विश्वका प्रमुख आर्थिकरुपमा संम्वृद्ध देशहरुमा शनिबार र आईतबार विदा हुने हँुदा समानता भई बैंकिङ्ग, इन्स्योरेन्स, कुटनैतिक, अन्तर्राष्ट्रिय सम्बन्ध आदि सम्बन्धि कार्यमा विदाको समानता भई सहज हुने छ ।

७. वैकल्पीक आयआर्जन
यो बिदाले २ दिन पूर्ण रुपमा कार्यालय जानु नपर्ने हुँदा समान विचारका व्यक्तिहरु संलग्न भई आय आर्जनको वैकल्पिक कर्म पनि गर्न सक्छन् । थप साप्ताहिक बिदाको प्रसंग चलिरहँदा यो पक्षबारे प्रश्न उठ्न सक्छ । तर अहिलेको वैश्य युगमा एउटा मात्र पेशा,व्यवसायबाट प्राप्त आम्दानीले घर खर्च धान्न र भविष्यको लागी बचत गर्न संभव नभएकाले वैकल्पिक पेशा,व्यवसायको महत्वलाई उपेक्षा गर्न सकिंदैन ।
र, अन्त्यमा बिदा सदुपयोग गरेमा लाभ हुने नै हुन्छ तर यसलाई अनुत्पादक कार्य गर्ने र कार्यालय खुल्दा पनि काम नगर्ने, सेवाग्राहीलाई दुःख दिने नियत राख्ने हो भने पक्कै प्रत्यूत्प।दक हुनेछ । कर्मचारीलाई ५ दिन जवाफदेही भएर काम गर्न प्रोत्साहन गर्ने र कार्य सम्पादनको निश्पक्ष मूल्याङ्कन गरी पुरस्कार र सजाय व्यवस्था गर्ने हो भने दुई दिने बिदाको सकारात्मक पक्षले बाँकी चिन्तालाई ओझेल पार्नेछ ।

(पोखरेल नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत हुन् , यो लेखले संस्थागत प्रतिनिधित्व गर्दैन। )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ईश्वर पोखरेल
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS