काठमाडौं । शाखा विस्तारमा जीवन बीमकभन्दा निर्जीवन बीमक आक्रामक देखिएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकबाट यस्तो देखिएको हो। जीवन र निर्जीवन दुवै बीमकको शाखा कार्यालयसँगै कर्मचारी संख्या पनि बढेको छ। वृद्धिदरमा भने निर्जीवन बीमक अगाडि देखिएका छन्।
हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लघु जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। समीक्षा अवधिसम्म यी कम्पनीका देशभर प्रधान, क्षेत्रीय, शाखा र उपशाखा कार्यालय गरेर ३ हजार २ वटा रहेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म २ हजार ८६८ वटा कार्यालय रहेका थिए। अघिल्लो वर्षको तुलनामा कार्यालय संख्या ४.६७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म जीवन बीमकको कार्यालय ०.८८ प्रतिशतले बढेर १ हजार ८४४ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ८२८ वटा थियो।
यसैगरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकको कार्यालय संख्या ११.३५ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कार्यालय संख्या १ हजार ४० वटा रहेको थियो।
त्यस्तै समीक्षा अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ९०१ कर्मचारी कार्यरत छन्। जसमा जीवन बीमकतर्फ ५ हजार ९२६ र निर्जीवन बीमकतर्फ ५ हजार ९७५ रहेका छन्।
अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ४९८ जना कर्मचारी कार्यरत थिए। जसमा जीवन बीमकतर्फ ५ हजार ८१८ र निर्जीवन बीमकतर्फ ५ हजार ६८० कार्यरत थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म जीवन बीमकमा कर्मचारी संख्या १.८६ प्रतिशत र निर्जीवन बीमकमा ५.१९ प्रतिशतले बढेको छ।