काठमाडौं । साँच्चै मानिसलाई सफल बनाउने सूत्र भनेको नै मेहनत हो। जुन क्षेत्रमा आफू प्रवेश गरेको हुन्छ, त्यसप्रतिको माया, मेहनत र दिगोपनले नै सफल बनाउन सक्छ। कहिलेकाहीँ आफ्नो मेहनतले पनि सफलता दिन्छ भन्ने हुँदैन। तर, आफ्नो खराब समयमा पनि सफलता हुने आशमा मेहनत गरिरहनु नै सफलताको कडी हो। यस्तै अथाह परिश्रम गरेर बीमा बजारमा आफ्नो परिचय बनाएका व्यक्ति हुन्, नवराज मंग्राती।
नवराज आफ्नो पेसाप्रति इमान्दार र मेहनती छन्। उनी सिटिजन लाइफ भैँसीपाटी शाखाका एजेन्सी म्यानेजर हुन्। नवराज बीमा अभिकर्ताको अलवा हाडवेयरका व्यवासायी पनि हुन्। उनी बिहानबाट बेलुकासम्म आफ्नो व्यवासयमा लडभीड गरिरहँदा बीमालाई पनि समय छुट्टाएर बीमा गर्दै हिँड्छन्। उनी बीमा बजारमा नयाँ पुस्ताका व्यक्तित्व भए पनि सफल अभिकर्ताका साथै व्यवासयीका रुपमा आफ्नो नाम परिचित बनाउन सफल छन्।
नवराज २०५१ सालमा सिन्धुलीको गोलन्जोर–७ हाइडाँडामा जन्मिएका हुन्। उनको बाल्यकाल सामान्य रुपमा बित्यो। ‘गाउँमा खेती–किसानी गर्ने परिवारमा जन्मियौँ’, नवराजले भने, ‘हाम्रो बाल्यकाल सामान्य परिवारमा बित्यो। बिहान–बेलुका घरको काम गरेर स्कुल जाने गर्थौं। सानैबाट मेहनत र दुःखलाई नजिकबाट नियाल्ने मौका पायौँ। अहिले खुसी छु। त्यही मेहनत र संघर्षले सफलताको बाटोमा ल्याइपुर्याएको छ।’
हाल नवराजको बसोबास ललितपुरको इमाडोलमा छ। उनले एसएलसीसम्मको अध्ययन आफ्नै जन्मथलोबाट पूरा गरे।
आफैँ सक्षम हुने सपना बोकेर नवराज २०६९ सालमा सपनाको सहर काठमाडौं छिरे। त्यसपछि उनले पढ्दै काम गर्ने निधो गरे। काम बुझ्दै जाँदा उनले एउटा फाइनान्स कम्पनीमा काम पाए। त्यस कम्पनीमा उनको तलब भने जम्मा २ हजार ५०० रुपैयाँ थियो। काम नहुनुभन्दा यति तलब भए पनि हुन्छ र बुवा–आमालाई पनि पैसाको भार कम हुन्छ भन्ने मनसायले उनले काम गर्न सुरु गरे। ‘थोरै तलब भए पनि काम गर्छु भन्ने भयो’, उनले भने, ‘एकातिर पढाइको तनाव, अर्कोतिर कोठाभाडा अनि त्यस्तै महँगो कलेज शुल्क। त्यो बेला मलाई धेरै तनाव हुन्थ्यो। घरमा माग्न पनि पारिवारिक अवस्थाले गर्दा मन नलाग्ने अनि मैले त्यो समयमा कलेज शुल्क तिर्नका लागि १५ दिन जति कलेज नगएर बालुवा–गिट्टी लोड–अनलोडदेखि बेल्चासम्मको काम गरेँ। त्यो पनि कलेजको फी तिर्न। कहिले रङ पेन्टिङ त कहिले पलम्बर अनि कहिले कपडाको भारीसम्म बोकेर दुःख र संघर्ष गरेर मैले प्लस टुको अध्ययन पूरा गरेँ। त्यसपछि ब्याचलर ज्वाइन गरेर दुःख–सुख पढ्दै गएँ। परिवारको जिम्मेवार पनि थपिँदै गयो। त्यसपछि मैले ५–६ वर्ष अरुकै हाडवयेर बिजनेसमा १०–१५ हजारको तलबमा काम गरेँ।’
काठमाडौंको जीवन व्यस्ततासँगै कठिन पनि। त्यो कठिन यात्रा झ्ल्दै नवराज हाडवयेरको व्यापारमा कर्मचारी भएर काम गर्दै आइरहेका थिए। सोही क्रममा नवराजसँग चिनजान भएका सिटिजन लाइफकै सिनियर एजेन्सी म्यानेजर सन्जयबहादुर ढकालसँग भेट भयो। ढकालले नवराजलाई ‘बीमा क्षेत्रमा आऊ, राम्रो हुन्छ, आफ्ना लागि पनि राम्रो र अरुका लागि पनि राम्रो हुने पेसा हो। आर्थिक रुपमा आफू पनि सबल भइने र अरुको हितका लागि पनि राम्रो हुन्छ। तिमी मार्केटिङमा भिजेको मान्छे, बीमा गर्न सक्छौ’ भने। कामकै लागि भौँतारिएका नवराजले ‘हुन्छ गर्छु’ भने। त्यसपछि नवराजले २०७८ को अन्तिममा लाइसेन्स लिएर सिटिजन लाइफबाट काम गर्न सुरु गरे।
अभिकर्ता लाइसेन्स लिएपछि नवराजलाई सुरु–सुरुमा काम गर्न असहज भयो। तर, पछि बीमा बुझ्दै गएपछि बुझाउँदै पनि गए। बीमा क्षेत्रमा प्रवेश गरेको वर्षको खासै बीमा पोलिसी बेच्न नसकेका नवराजले २०७९ सालबाट राम्रोसँग काम गरे। अहिले नवराजले आफ्नै बिजनेस गर्छन्। हार्डवेयर डोर फिटिङको सामानको होलसेल सप्लायर्स गर्छन्। साथै, बीमालाई पनि सँगै गरिरहेका छन्।
नवराज भन्छन्, ‘पहिला पनि जीवन दुःख–सुख चलेको थियो। अहिले पनि चलेको नै छ। तर, फरक चाहिँ यति हो कि सिटिजन लाइफमा प्रवेश गरेपछि प्लस प्वइन्ट भएको छ। आफूले सकेको बीमा गराएको छु। मलाई यहाँसम्म आउनका लागि भेषराज भट्टराई र सञ्जय ढकाल सरको ठूलो सहयोग छ। मलाई उहाँहरुकै प्रेरणाले यस क्षेत्रमा सफलता दिलाएको छ। म धेरै खुसी र सन्तुष्ट छु।’
‘अभिकर्ता पेसा बीमा नबुझनेहरुका लागि दलालजस्तो पेसा देखिए पनि यो पेसा साँच्चै एक हिसाबले सामाजिक भाव मिसिएको पेसा हो। जहाँ अभिकर्ताले बीमा गराएर मानिसको भविष्य सुनिश्चित गर्ने गर्दछन्। काम गरेबापत त हरेक व्यवसाय र पेसामा तलब पाइन्छ नि। तर, अन्य पेसाभन्दा यो फरक छ। यसका सामाजिक भाव पनि मिसिएको छ। त्यसकारण अभिकर्ता पेसा चाहिँ मेरो विचारमा सामाजिक पुन्यको पेसा हो’, नवराज भन्छन्।
आफ्नो समय हुँदा आफ्नो व्यवसायलाई समय दिएर फुर्सदमा अभिकर्ता पेसा अगाँलेर आफू आर्थिक रुपमा सबल हुन पाउनु नै धेरै राम्रो रहेको नवराजको अनुभव छ। ‘मलाई अभिकर्ता पेसा धेरै राम्रो लाग्छ। अभिकर्ता पेसामा आउन अझै ढिलो भएछ भन्नेमा मलाई धेरै पछुतो छ। अलि छिटो यो पेसामा आएको भए आफूलाई पनि हुने र धेरै मानिसलाई बीमाको दायरामा ल्याउन सक्ने रहेछु भन्ने लाग्छ’, उनले भने।
आफ्नो व्यवसाय र अभिकर्ता पेसालाई एकैसाथ लिएर अगाडि बढ्न कतिको गाह्रो छ भन्ने प्रश्नमा नवराजले भने, ‘गाह्रो छैन। अझै मलाई त सपोर्ट मिलेको छ। मेरो व्यवसायमार्फत चिनजान भएका मानिसलाई पनि बीमा बुझाउन पाएको छु। बीमा नै गर्नुपर्छ ममार्फत भन्ने मेरो धारणा छैन। कमसेकम सबैले बीमा बुझे हुन्थ्यो भन्ने लाग्छ। त्यही हो मलाई सहज छ।’
अभिकर्तामा हुनुपर्ने गुण
‘मैले इन्स्योरेन्सलाई पार्ट टाइमका रुपमा गरे पनि यो पेसा अपनाइसकेपछि चाहिँ धेरै गुण हुन आवश्यक रहेछ मेरो विचारमा’, नवराजले भने, ‘एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्छ। अभिकर्ता आफ्नो पेसाप्रति लगनशील, मेहनती, इमान्दार, सहनशीलता, कम्पनीका बारेमा ज्ञान, बीमा पोलिसीका बारेमा ज्ञान र बीमा बुझाउन सक्ने खुबी हुनु धेरै आवश्यक रहेछ।’
नवप्रवेशी अभिकर्तालाई सुझाव
बीमा अभिकर्ता भएर प्रवेश गर्न चाहने नवप्रवेशीलाई लक्षित गर्दै नवराजले निरन्तर रुपमा लागिपरेर काम गर्दा आम्दानीको हिसाबले उत्कृष्ट रहेको बताए। ‘आफ्नो कर्तव्य निर्वाह गरेको खण्डमा मान–सम्मान, इज्जत र आम्दानी गर्न सकिने पेसा हो’, उनले भने, ‘आर्थिक रुपमा सबल हुने पेसा, थोरै समय दिए पनि हुने, घरपरिवारलाई समय दिएर फुर्सदमा गर्न सकिने पेसा भएकाले धेरै राम्रो पेसा छ।’
सिटिजन लाइफ परिवारप्रति आभार व्यक्त गर्दै नवराजले आफूलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने कम्पनीको टिमप्रति धन्यवाद व्यक्त गरे। कम्पनीकोे साथ सपोर्ट र हौसलाले आफू अगाडि बढ्न प्रेरित भएको बताए। उनले सिल्भर क्लब, हिरो अफ द डेलगायत कम्पनीले दिने टार्गेट मिट गरेका छन्।