काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रुपमा सोमबार शपथ लिएका छन्। शपथ ग्रहण गरेपछि ट्रम्पले ऊर्जादेखि आप्रवासनसम्मका मुद्दाहरु समावेश गर्ने धेरै कार्यकारी आदेश र निर्देशनहरुमा हस्ताक्षर गर्ने योजना बनाएका छन्। यसमा अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने पनि समावेश छ।
ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रुपमा शपथ लिनेबित्तिकै थुप्रै कार्यकारी आदेश र निर्देशनहरुमा हस्ताक्षर गर्ने योजना बनाएका छन्। आफ्नो भाषणको क्रममा पनि ट्रम्पले धेरै ठूला घोषणाहरु गरेका छन्।
रोयटर्सको रिपोर्टका अनुसार ट्रम्प प्रशासनले आगामी केही दिनमा २०० भन्दा बढी थप निर्देशन र आदेश जारी गर्ने तयारी गरिरहेको छ।
आप्रवासन
ट्रम्पले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निष्कासन अभियान लागू गर्ने वाचा गरेका छन्। उनले अवैध आप्रवासीलाई रोक्न धेरै कार्यकारी आदेशहरु योजना गरिरहेका छन्। उनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने योजना बनाएका छन्। अवैध आप्रवासनलाई पूर्ण रुपमा रोक्ने वाचा गर्दै ट्रम्पले भने, ‘सबै अवैध प्रवेश तुरुन्तै रोकिनेछ र लाखौँ अपराधीहरुलाई उनीहरुको गृह देशमा निर्वासन सुरु गर्नेछौँ।’
राष्ट्रिय ऊर्जा संकटकाल घोषणा
ट्रम्पले अमेरिकालाई तेल र ग्यास उत्पादनमा आत्मनिर्भर बनाउन र अमेरिकी नागरिकहरुको लागि ऊर्जा लागत घटाउन ‘राष्ट्रिय ऊर्जा संकटकाल’ घोषणा गर्ने योजना बनाएका छन्। ‘अत्यधिक खर्च र बढ्दो ऊर्जाको मूल्यका कारण मुद्रास्फीतिको संकट उत्पन्न भएको हो। त्यसैले आज म राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गर्न गइरहेको छु’, ट्रम्पले क्यापिटल रोटुन्डामा राष्ट्रपतिको रुपमा शपथ लिएपछि भने, ‘ड्रिल, बेबी ड्रिल’ नारा दिए र घरेलु तेल उत्पादन बढाएर र उपभोक्ताहरुका लागि ग्यासको मूल्य घटाएर अमेरिकालाई ऊर्जामा निर्भर बनाउनेछु।’
विद्युतीय सवारीसाधन (ईभी)का अनिवार्यता समाप्त
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा विद्युतीय सवारी (ईभी)को अनिवार्यता समाप्त गर्ने घोषणा गरे। ‘अमेरिकीहरुले आफूले चाहेको कार किन्न स्वतन्त्रता हुनुपर्छ’, उनले भने, ‘आजको मेरो कार्यले हामी ग्रीन न्यु डिलको अन्त्य गर्नेछौँ र हामी हाम्रो अटो उद्योगलाई बचाउने तथा हाम्रा महान अमेरिकी अटोवर्कर्सलाई गरेको मेरो पवित्र प्रतिज्ञालाई पालना गर्दै इलेक्ट्रिक गाडीको जनादेश खारेज गर्नेछौँ।’
कोभिडका कारण जागिर गुमाएकाहरुको पुनर्बहाली
ट्रम्पले कोभिड–१९ को खोपको जनादेशका कारण सेवाबाट हटाइएका हजारौँ अमेरिकी सेनालाई पुनर्स्थापना गर्ने घोषणा गरेका छन्। उनले पहिलो दिनमै यस विषयमा कारबाही गर्ने बताए। लगभग ८ हजार सैनिकहरु मान्डअन्तर्गत सेनाबाट हटाइएको थियो।
व्यापार प्रणालीको सुधार, बाह्य राजस्व सेवाको स्थापना
ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकी नागरिकलाई फाइदा पुग्ने गरी अन्य देशमा कर र शुल्क लगाउने घोषणा गरेका थिए। उनले व्यापार प्रणाली सुधार र बाह्य राजस्व सेवा स्थापना गर्ने योजना पनि प्रकट गरेका छन्। ट्रम्पले भने, ‘हामी बाह्य राजस्व सेवा स्थापना गर्दैछौँ। जसले शुल्क, भन्सार र राजस्व संकलन गर्नेछ। यसले विदेशी स्रोतहरुबाट हाम्रो कोषमा महत्वपूर्ण रकम ल्याउनेछ।’
सरकारी सेन्सरसिपको अन्त्य
ट्रम्पले भने, ‘हामी सबै सरकारी सेन्सरशिप अन्त्य गर्नेछौँ र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्नेछौँ।’
व्यापार र शुल्क
ट्रम्पको व्यापार अजेन्डा संघीय एजेन्सीहरुलाई चीन, क्यानडा र मेक्सिकोसँगको व्यापार सम्बन्ध समीक्षा गर्न निर्देशन दिनेमा आधारित छ। नयाँ शुल्कहरुका लागि तत्काल कुनै योजना नभए पनि यो समीक्षाले महत्वपूर्ण परिवर्तनहरु ल्याउन सक्छ।
ट्रम्पले विश्वव्यापी आयातमा १० प्रतिशत कर, चिनियाँ सामानमा ६० प्रतिशत र क्यानडा र मेक्सिकोका उत्पादनहरुमा २५प्रतिशत ट्यारिफ प्रस्ताव गरेका छन्। यी कदमहरुले अमेरिकी आर्थिक वृद्धिलाई प्रोत्साहित गर्न सक्छ। यद्यपि, आलोचकहरु भन्छन् कि यस्ता कदमले उपभोक्ताको लागि लागत बढाउन सक्छ।
पनामा नहर पुनः कब्जा गर्ने योजना
ट्रम्पले अमेरिकाले पनामा नहरलाई फेरि आफ्नो नियन्त्रणमा लिने योजना बनाएको बताए। तर, शपथपछिको भाषणमा उनले यस विषयमा थप जानकारी दिएनन्।
जन्मसिद्ध नागरिकताको उन्मूलन
ट्रम्पको कार्यकारी आदेशमा जन्मसिद्ध नागरिकता समाप्त गर्ने योजना पनि समावेश छ। यद्यपि उनले सम्बोधनमा यो उल्लेख गरेनन्। –एजेन्सीको सहयोगमा