काठमाडौं । भारतको वित्तीय राजधानीको रूपमा परिचित मुम्बईमा वैश्विक पुनर्बीमा शिखर सम्मेलनको दोश्रो संस्करण सोमबारदेखि शुरू भएको छ। जुहु बीचस्थित होटल जेडब्लु मेरियटमा जारी सम्मेलनमा नेपाली प्रतिनिधिहरू समेत सहभागी छन्।
आयोजक संस्था अन्तर्राष्ट्रिय वित्तीय सेवा केन्द्र प्राधिकरणका अनुसार कार्यक्रममा ३०० भन्दा बढी पुनर्बीमकको सहभागीता रहेको छ। प्राधिकरणका अध्यक्ष के राजारामन, भारतीय बीमा नियामकका एक्चुअरी तथा पुनर्बीमाका सदस्य पीके अरोरा, गुजरात विशेष आर्थिक क्षेत्रका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी तपन रे र भारतीय तथा अन्तर्राष्ट्रिय पुनर्बीमा विज्ञले शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । यो शिखर सम्मेलन बुधबार सम्म जारी रहनेछ।
सम्मेलनमा निर्जीवन बीमक, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी वीरेन्द्र वैदबार, युनाइटेड अजोड इन्स्योरेन्सका कमल गाैतम, नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जन सहभागी छन् । यसैगरी जीवन बीमक, एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको साथै पुनर्बीमा दलाल कम्पनीका प्रतिनिधि, केही बीमकको पुनर्बीमा विभागका प्रमुखको सहभागिता रहेको छ।
नेपाली टोलीको प्रस्तुतीः
पुनर्बीमा व्यवसाय र विशेषगरी निर्जीवन बीमाको पुनर्बीमाको विषय वस्तुमा सम्मेलन केन्द्रित रहेको छ। सम्मेलनको विभिन्न शत्रमध्ये तेश्रो दिनको एउटा शत्रमा नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले वक्ताका रूपमा सहभागिता जनाउने भएका छन् । ड्राइभिङ रिजनल रेलिसेन्स एण्ड द इभोल्भिङ रोल अफ रिजनल रिइन्स्योरर्स एण्ड रेगुलेटर्स(क्षेत्रीय सहनशीलता प्रवर्द्धन र क्षेत्रीय पुनर्बीमक तथा नियामकको बदलिंदो भूमिका) विषयक छलफल कार्यक्रममा महर्जनले नेपाली परिदृश्य र अनुभवबारे आफ्नो मन्तव्य व्यक्त गर्नेछन् ।
सम्मेलनमा भारतीय चासोः
एशिया इन्स्योरेन्स पोष्टका अनुसार, यो शिखर सम्मेलनको माध्यमबाट प्राधिकरणले गुजरात राज्यमा स्थापित गिफ्ट सिटी( गुजराज इन्टरनेशनल फाइनान्स टेक सिटी)लाई विश्वव्यापी पुनर्बीमकमाझ प्रदर्शन गर्ने र भारतीय बजारमा पहिले नै अन्तर सीमा पुनर्बीमा दलालको रूपमा काम गरिरहेकालाई गिफ्ट सिटीमा आफ्नो कार्यालय स्थापना गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।
गुजरात राज्यको अहमदाबाद नजिकैको गिफ्ट सिटीमा अवस्थित अन्तर्राष्ट्रिय वित्तीय सेवा केन्द्र भारतको पहिलो अन्तर्राष्ट्रिय स्तरको वित्तीय सेवा केन्द्र हो । सेवा केन्द्रको स्थापना हुनुभन्दा अघि, घरेलु वित्तीय नियामक, रिजर्भ बैंक अफ इण्डिया, सेक्युरिटी एक्सचेञ्ज बोर्ड, बीमा विकास तथा नियामक प्राधिकरणले सेवा केन्द्रमा सञ्चालन हुने व्यवसायलाई नियमन गर्थे।
आइएफएससी गिफ्ट सिटीले अनुकूल नियामक वातावरण, कर लाभ, आधुनिक पूर्वाधार सहित भारतीय बीमा बजारमा सहज पहुँच प्रदान गर्दछ। यस क्षेत्र भित्र पहिले नै कार्यरत स्थापित अन्तर्राष्ट्रिय वित्तीय खेलाडीहरूको पनि उपस्थिति छ। हाल भारतमा झण्डै ३ सय अन्तर सीमा पुनर्बीमा दलाल छन् । यी दलालमार्फत भारतको पुनर्बीमा १ खर्ब भारतीय रूपैयाँको पुनर्बीमा व्यापारमा ३० प्रतिशत हिस्सा ओगटेका छन् ।
यसबाहेक, अप्रिल १ देखि लागू हुने नयाँ भारतीय बीमा नियामकले क्रस बोर्डर पुनर्बीमा नियमहरू अन्तर्गत भारतमा व्यवसाय गर्न जमानत प्रदान गर्न आवश्यक पर्ने पुनर्बीमा दलालहरूले पनि पनि गिफ्ट सिटीमा कुनै झन्झट बिना र अन्य वित्तीय झण्झट बिना नै भारतीय बजारमा व्यवसाय गर्न शाखा स्थापना गर्न सक्छन्।