काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म वाणिज्य बैंकहरुले करिब साढे २७ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। यो बैंकले चालु वर्षको पुससम्म ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १.२९ प्रतिशतले बढेको छ।
दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ४९.५१ प्रतिशतले बढेको छ।
सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ५७.१८ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको पुससम्म एभेष्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३५ लाख रुपैयाँ र प्राइम बैंकले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशत र एनएमबि बैंकको ४५.६१ प्रतिशतले बढ्दा प्राइम बैंकको भने १४.३४ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको मंसिरसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९७ प्रतिशतले घट्दा हिमालयन बैंकको ०.९८ प्रतिशत, प्रभु बैंकको ८५.४९ प्रतिशत, सानिमा बैंकको ४.७२ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशतले बढेको छ। नाफा बढोत्तरीको हिसाबले प्रभु बैंकको अगाडि रहेको छ।
यसैगरी पुससम्म कृषि विकास बैंकले ९५ करोड ७५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ९० करोड २ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँले नाफा कमाएका छन्। अघिल्लो वर्षको तुलनामा कृषि विकास बैंकको नाफा २९.३५ प्रतिशतले घट्दा नेपाल एसबीआई बैंकको ७.११ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पुससम्म राष्ट्रिय वाणिज्य बैंकले ७६ करोड ३० लाख रुपैयाँ, सिटिजन्स बैंकले ८८ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ, नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ, कुमारी बैंकले २७ करोड ५७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशत, सिटिजन्स बैंकको १५.४५ प्रतिशत, सिद्धार्थ बैंकको ५३.३६ प्रतिशत, नेपाल बैंकको २१.८७ प्रतिशत, कुमारी बैंकको ६८.२० प्रतिशत र एनआईसी एसिया बैंकको ९२.०३ प्रतिशतले घटेको छ।