काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४५.६१ प्रतिशत बढीले हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी १४.२८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९५ करोड ७६ लाख रुपैयाँबाट घटेर ३४ करोड ४७ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयरआम्दानी ६ रुपैयाँ ८४ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.९५ गुणा रहेको छ।