काठमाडौं । नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकमध्ये आर्थिक वर्ष २०८०/८१ को लागि ११ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने निर्णय गरेका छन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बाँकी ८ वटा वाणिज्य बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।
नेप्सेमा सूचिकृत वाणिज्य बैंकमध्ये कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले लाभांश वितरण गर्ने घोषणा गरिसकेका हुन् ।
नेप्सेमा सूचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश वितरण गरेको छैन् । बैंकको साधारण सभा भने सम्पन्न भइसकेको छ ।
यता गत वर्षको मुनाफाबाट लाभांश नदिने बैंकमा नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, एनएमबि बैंक र प्रभु बैंक हुन् । लाभांश नदिने बैंक यीमध्ये, माछापुच्छ्रे, हिमालयन, प्रभु बैंक, एनएमबि बैंकको साधारण सभा सम्पन्न भइसकेको छ भने ४ वटा बैंकको साधारण सभा हुन बाँकी छ । जसमध्ये कुमारी बैंकले आफ्नो २४औँ वार्षिक साधारण सभा माघ २१ गते डाकिसकेको छ, बाँकी ३ बैंक एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकले साधारण सभाको मिति समेत तय गरेका छैनन् ।
सानिमा बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले यस वर्ष बोनस नदिई नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले मंसिर ४ गते आफ्नो २०औँ वार्षिक साधारणसभाबाट सो लाभांश पारित गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.५ प्रतिशत बोनस शेयरमात्रै दिने घोषणा गरेको छ। यस वर्ष बैंकले नगद लाभांश नदिने भएको छ। बैंकले मंसिर २७ गते आफ्नो १८औँ वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेको छ ।
सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर दिने भएको छ भने कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले कात्तिक १२ गते आफ्नो १८ औँ वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश अनुमोदन गरिसकेको छ ।
एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमध्ये बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ भने ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले असोज २० गते आफ्नो ३०औँ वार्षिक साधारणसभा पनि सम्पन्न गरिसकेको छ।
नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने निर्णय गरेको छ। बैंकले मंसिर २७ गते आफ्नो ४०औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। बैंकले मंसिर १९ गते आफ्नो १७औँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५.५ प्रतिशतले लाभांश घोषणा गरेको छ। जसमा ६.५ प्रतिशत बोनस शेयर र करसहित १९ प्रतिशत नगद लाभांश छन् । बैंकले आफ्नो ३८औँ वार्षिक साधारण सभा मंसिर २५ गते सम्पन्न गरिसकेको छ ।
लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस शेयर र कर प्रयोजनार्थ ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन् । बैंकले आफ्नो २४औँ वार्षिक साधारण सभा पुस २४ गते सम्पन्न गरिसकेको छ ।
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार २८२ रुपैयाँको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३.८० प्रतिशत बोनस शेयर र ६।८५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । बैंकले आफ्नो ३१ औं वार्षिक साधारण सभा पुस २१ गते सम्पन्न गरिसकेको छ ।
यसैगरी सिद्धार्थ बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । बैंकले आफ्नो २३औँ वार्षिक साधारण सभा पुस २८ गते सम्पन्न गरिसकेको छ ।
कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभा पुस २९ गते सम्पन्न गरिसकेको छ ।