काठमाडौं । ‘सजिलो साथी’ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा आएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ सार्वजनिक गरिएको हो ।
नेपाली राइड शेयरिङ प्लेटफर्म ‘सजिलो साथी’ मा क्याप्टेन विजय लामा सह संस्थापकको रुपमा जोडिएका छन् । लामालाई औपचारिक रूपमा ‘सजिलो साथी’ मा आबद्ध गरिएको हो ।
कार्यक्रममा बोल्दै क्याप्टेन लामाले आफू यात्रासँग जोडिएको व्यक्ति भएकोले यो व्यवसाय आफ्नो लागि उपयुक्त भएको बताए ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दिवाकर खनालले नेपालमै पहिलो पटक ‘जियोफेस सिस्टम’ सुरु गर्न लागेको जानकारी दिए । सन् २०२२ मा स्थापना भएको यो कम्पनीले हाल काठमाडौं उपत्यकामा मात्र सेवा दिइरहेको जानकारी उनले दिए ।
सजिलो राइड शेयरिङका प्रमुख कार्यकारी अधिकृत आमिर लामाले आफूहरू बजारमा भएका अन्य सेवाभन्दा फरक रहेको दाबी गरे । उनले यात्रु र चालक दुवैको सुरक्षामा विशेष ध्यान दिएको बताए ।
अबको ६ महिनाभित्र नेपालभर सेवा विस्तार गर्ने योजना कम्पनीको रहेको पनि उनले बताए । कम्पनीले यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राख्दै शिखर इन्स्योरेन्ससँग सहकार्य गरी बीमा सुविधा पनि सुरु गरेको पनि उनले बताए ।