काठमाडौं । आमनागरिकलाई कुनै प्रयोजनका लागि कर्जा आवश्यक परेमा सहकारी संस्था वा बैंक तथा वित्तीय संस्थामाथि निर्भर रहनुपर्छ। सहकारी संस्था वा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रक्रिया लामो, झन्झटिलो र तत्कालै पैसा नपाइने हुन्छ। यस्तो अवस्थामा आवश्यक भएकै समयमा तत्कालै (एकाध घन्टामा) कर्जा उपलब्ध गराउने स्रोत हो, जीवन बीमा कम्पनी।
जीवन बीमा कम्पनीले पनि आफ्ना बीमितलाई बीमालेखको धितोमा कर्जाबापत ठूलो रकम उपलब्ध गराइरहेका छन् । अन्य वित्तीय संस्थाबाट कर्जा लिनुभन्दा जीवन बीमकबाट कर्जा लिनु सहज हुन्छ। बीमालेखको धितोमा लिइएको कर्जाको साँवा नियमित किस्तामा तिर्नुपर्दैन। साँवाबापत किस्ताको रकम निश्चित पनि गरिएको हुँदैन।
बीमा अवधि पूरा नहुँदासम्म जहिले जति सकिन्छ, त्यति रकममात्र साँवा भुक्तानी गरे पुग्छ। उदाहरणका लागि कुनै बीमितले १ लाख रुपैयाँ कर्जा लिएको छ र बीमाको अवधि पूरा हुन ५ वर्ष बाँकी छ भने ५ वर्षको अवधिभित्र जति सकिन्छ, त्यति साँवाबापतको रकम तिर्दै गए हुन्छ। बैंकमा जस्तो इक्वल मन्थली इन्स्टलमेन्ट–ईएआई (समान मासिक किस्ता) तिर्नुपर्ने बाध्यता हुँदैन।
बीमालेख सुरक्षण कर्जाको फाइदा
बीमालेख सुरक्षणवापत कर्जा सुविधा उपभोगमा बीमितलाई धेरै सेवा सुविधाहरू प्राप्त हुन्छ। यो छिटो, सहज र झण्झट रहित हुन्छ। बीमालेख कर्जा सुविधाका फाइदाहरूः
१. तत्कालै ऋण पाइने
बीमितले बीमालेख कर्जाको लागि आवेदन दिएको एक घण्टाभित्रै जीवन बीमकको कार्यालयबाट कर्जा रकम प्राप्त गर्न सक्छन् । सबै कागज पत्र र प्रमाण जम्मा गरेर एक पटक आवेदन दर्ता गराइ सकेपछि बीमितले कर्जा रकम लिनका लागि बीमकको कार्यालयमा कुरेर बस्नुपर्दैन। घर नपुग्दै बैंक खातामा पैसा जम्मा भइ सकेको हुन्छ, बीमकले नै अनलाइन मार्फत सिधै बैंक खातामा रकम जम्मा गरिदिन्छ।
२. स्थिर ब्याजदर
जीवन बीमकले एक पटक दिएको कर्जावापतको ब्याज दर कर्जा उपभोग अवधि भर परिवर्तन गर्दैनन् । अहिले नेपालको जीवन बीमा बजारमा बीमालेख सुरक्षण कर्जाको ब्याज दर ९ देखि १२ प्रतिशतसम्म छ।
३. नियमित किस्ता तिर्नु नपर्ने
बीमालेख कर्जावापतको साँवा रकम नियमित किस्तामा तिर्नुपर्दैन । बीमितले जहिले इच्छा लाग्छ, जति इच्छ लाग्छ, त्यति रकम तिर्दै गएर साँवा वापतको रकम चुक्ता गर्ने सुविधा दिइएको हुन्छ। तर साँवा वापतको रकम बीमा अवधि भित्र भुक्तानी गरि सक्नुपर्छ।
४. सेवा शुल्करहित
बैंक वा सहकारीले कर्जा उपलब्ध गराउँदा सेवा शुल्क असुल्छन्। जीवन बीमा कम्पनीबाट कर्जा लिंदा एक सुको पनि सेवा शुल्क तिर्नुपर्दैन।
५. अल्पकालीन उपभोग
तपाईलाई एक दिन, एक साता, एक महिना, तीन महिना, ६ महिना वा एक वर्ष अवधि अर्थात छोटो अवधिका लागि कर्जा आवश्यक परेको छ भने यो एकदमै उत्तम सुविधा हो। आज लिएको कर्जाको साँवा भोलि नै पुरा चुक्ता गर्न चाहान्छु भन्नु हुन्छ भने पनि पाइन्छ, एक दिनको मात्र ब्याज तिरेर तपाइले एकमुष्ठ सम्पूर्ण साँवा चुक्ता गर्न सक्नुहुन्छ। यसका लागि कुनै शुल्क, प्रतिबद्धता शुल्क(कमिटमेण्ट फि) वा जरिवाना तिर्नुपर्दैन।
बीमालेख सुरक्षण कर्जाका बेफाइदा
बीमालेख सुरक्षण कर्जाका फाइदासँग केही बेफाइदा पनि छन् । यस्तो कर्जा सुविधा उपभोग गर्दा बीमितले सामान्य मात्र सावधानी अपनाउने हो भने बेफाइदा वा नोक्सानी हुनबाट जोगिन सजिलो छ।
१. चक्र वृद्धि ब्याजदर
जीवन बीमकले उपलब्ध गराउने कर्जाको ब्याज दर स्थिर भएपनि यो अर्द्ध वार्षिकरूपमा चक्र वृद्धि हुने ब्याज दर हो । अर्थात् ६-६ महिनामा बीमितले कर्जाको ब्याज रकम भुक्तानी गर्नुपर्छ। नगरे ब्याजमा पनि साँवा सरह ब्याज तिर्नुपर्छ। त्यसैले आफूले तिर्नुपर्ने ब्याज रकम र तिर्नुपर्ने मितिबारे यकीन जानकारी लिएर नियमितरूपमा ब्याज तिर्न बिर्सनु हुँदैन।
२. साँवाको भार
बैंक वित्तीय संस्थामा झैं साँवावापतको रकम नियमित मासिक किस्तामा भुक्तानी गर्नु नपर्दा जति सहज हुन्छ, बीमितका लागि यसले समस्या पनि निम्त्याई दिन सक्छ। बीमितले निरन्तररूपमा ब्याज रकम तिरि रहनुपर्छ, साँवाको रकम जस्ताको त्यस्तै हुन्छ।
३. बीमालेख जफतको जोखिम
कर्जाको साँवा नियमित तिर्नुपर्ने बाध्यता नहुँदा बीमितले सावधानी अपनाएन भने एकाध पटक ब्याज रकम तिर्न छुट्यो वा बिर्सियो भने साँवामा ब्याज समेत थपिएर साँवा रकम बढ्छ। यसरी साँवा थपिएर समर्पण मूल्य भन्दा बढी भयो भने तत्कालै बीमालेख जफत भइ दिन्छ। एक पटक बीमालेख जफत भएपछि बीमितको केही लाग्दैन, बीमालेख जीवन बीमकको कब्जामा पुग्छ, बीमितले कुनै पनि दाबी भुक्तानी वा सेवा सुविधा प्राप्त गर्दैन। हात लाग्यो शुन्य हुन पुग्छ।
कसरी पाइन्छ जीवन बीमा कम्पनीबाट कर्जा ?
जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार समर्पण मूल्य (सरेण्डर भ्यालु) प्राप्त गर्न योग्य जीवन बीमालेखको सुरक्षामा बीमितले कर्जा उपभोग गर्न सक्छन् । कुनै पनि सावधिक प्रकृतिको बीमालेख समर्पण मूल्य योग्य हुनका लागि बीमितले कम्तीमा ३ वर्षको बीमाशुल्क भुक्तानी गरेको हुनुपर्छ। र बीमालेख खरिद गरेको पुरा तीन वर्ष नाघेको हुनुपर्छ। बीमकले बीमालेख सुरक्षण राखी कर्जा प्रदान गर्दा बढीमा समर्पण मूल्यको नब्बे प्रतिशत र कम्तीमा १ हजार रूपैयाँसम्म कायम गर्नुपर्छ।
बीमालेख सुरक्षण कर्जाका लागि पुरा गर्नुपर्ने प्रकृया
१. कर्जाका लागि आवेदन
बीमितले बीमालेख कर्जाका लागि आफूले बीमालेख खरिद गरेको जीवन बीमकको नजिकको शाखा कार्यालयमा निवेदन दर्ता गराउनुपर्छ।
२. आवेदनका लागि आवश्यक कागजपत्र
क) सक्कल बीमालेखः बीमितले कर्जा लिनका लागि आफूसँग भएको बीमालेखको सक्कल प्रति सहितको फाइल नै बीमकको कार्यालयमा सुरक्षणका लागि दिनुपर्छ।
ख) नागरिकता प्रमाण पत्रः बीमितले आफ्नो पहिचान खुलाउनका लागि सक्कल नागरिकता प्रमाण पत्र बीमकको कार्यालयमा पेश गर्नुपर्छ।
ग) बैंक खाता विवरणः बीमितले कर्जाका लागि निवेदन दिंदा निवेदनमै आफ्नो बैंक खाता सम्बन्धि सबै विवरण उल्लेख गर्नुपर्छ।
घ) फोटोः बीमकले बीमालेख कर्जाको निवेदनमा टाँस्नका लागि बीमितको हालसालैको फोटो माग गर्न सक्छन्।
३. समर्पण मूल्य र कर्जा रकम
बीमकले बीमा सफ्टवेयरमार्फत बीमितले प्राप्त गर्ने समर्पण मूल्यवापतको रकमबारे यकीन गर्छन् । समर्पण मूल्यको ८० देखि ९० प्रतिशतसम्म बीमितले कर्जा लिन सक्छन् ।
४. कर्जा तमसुक
कर्जा वापतको रकम यकीन भई सकेपछि बीमा कम्पनीको कर्मचारीले कर्जाको तमसुकमा बीमितको सहि र ल्याप्चे लिन्छन् । तमसुकमा हस्ताक्षर गर्नु अघि बीमितले एक पटक कर्जाका सबै शर्त, ब्याज दर लगायतको बारेमा राम्ररी पढेर मात्र हस्ताक्षर गर्नुपर्छ। र तमसुकको एक प्रति आफ्ना लागि पनि माग्नुपर्छ।
कर्जाको निवेदन स्वीकृत भई सकेपछि सुरक्षणवापत बीमालेखकको सक्कल फाइल नै जीवन बीमकले कार्यालयमा राख्छन्, बीमितलाई कर्जा रकमको पूर्जा मात्र उपलब्ध गराउँछन् ।
५. कर्जाको ब्याज र साँवा भुक्तानी
बीमितले डिजिटल वालेटमार्फत, बीमकको बैंक खातामा वा बीमकको शाखा, उपशाखा कार्यालयमा कर्जाको ब्याज रकम र साँवा रकम भुक्तानी गर्न सक्छन् ।
६. बीमालेख फिर्ता
कर्जाको सम्पूर्ण साँवा र ब्याज वापतको रकम चुक्ता गरेपछि बीमितले बीमालेखको सक्कल फाइल बीमकबाट फिर्ता लिन पाउँछन् ।