काठमाडौं । भारतीय शेयर बजार नियामक, सेक्युरिटी एक्सचेञ्ज बोर्ड सेबीले केतन पारेख सहित तीन जनालाई शेयर बजार कारोबारमा प्रतिबन्ध लगाएको छ। यी व्यक्तिहरूलाई ‘फ्रन्ट-रनिङ'(अग्र दाैड) मा संलग्न भएको आरोप लगाइएको छ। सेबीको अनुसन्धानले उनीहरूले शेयर बजारमा अग्र दाैडका माध्यमबाट गैरकानूनी रूपमा ६५ करोड ७७ लाख भारतीय रुपैयाँ(१ अर्ब ५ करोड २३ लाख नेपाली रूपैयाँ) नाफा कमाएको खुलासा भएपछि कारवाही गरिएको हो।
कोलकात्ताको शेयर बजारका लगानीकर्ता केतन पारेखलाई पक्राउ गर्न सेबीले परम्परागत अनुसन्धान विधिको साटो सूचना प्रविधिमा आधारित नयाँ अनुसन्धान विधिको प्रयोगहरू गर्यो। सेबीका अनुसार, सन् २००० मा १४ वर्षका लागि शेयर कारोबारमा प्रतिबन्ध लगाइएका केतन पारेखले शेयर कारोबारका क्रममा आफ्नो पहिचान लुकाउन धेरै फरक फरक फोन नम्बर र नाम प्रयोग गरेका थिए।
केतन पारेखको घोटालाको पुरा कथा यस्तो छः
भारतीय शेयर बजारमा विदेशी लगानीकर्तालाई निश्चित क्षेत्रमा लगानीको कानूनी बाटो खुल्ला छ। भारतको बढ्दो अर्थतन्त्रको लाभ लिनका लागि विदेशी लगानीकर्ताले ठूलो परिमाणमा भारतीय शेयर बजारमा पूँजी लगानी गर्दै आएका छन् । यस्ता लगानीकर्तालाई लगानीमा सहजीकरणाका लागि सहजकर्ता अर्थात स्थानीय सहयोगीको आवश्यकता पर्छ।
यस्ता कारोबारमा लाखौं र करोडौंसम्मको ठूलो रकम समावेश हुने भएकोले, यी सम्झौताहरूलाई उत्तम मूल्यमा धेरै वुद्धिमानीपूर्वक कार्यान्वयन गर्नु सहजकर्ताको काम हो। पारेखसँग सम्बन्ध जोडिएका रोहित सालगाँवकर त्यस्तै एक सहजकर्तामध्येका हुन्। उनले अमेरिकास्थित टाइगर ग्लोबलका लागि भारतीय शेयर बजारमा सहजकर्ताको काम गरे र शेयर बजारमा उत्तम मूल्यमा सम्पन्न भएको सुनिश्चित गरे।
सेबीको अनुसन्धानले केतन पारेखले सालगाँवकरसँग हात मिलाएर अग्र दाैडमा सहभागि हुने योजना बनाएको पाइएको छ।
अग्र दौड भनेको के हो ?
अग्र दाैड भनेको शेयर बजारमा हुने एक प्रकारको ठगी हो। यसमा, ब्रोकर वा व्यापारीलाई कुनै लगानीकर्ताले अब कुन कम्पनीको शेयर खरिद गर्दैछ भन्ने बारेमा पहिले नै थाहा हुन्छ। यस्तो सूचना प्राप्त भएलगत्तै अग्र दाैडमा रहनेले ती शेयर खरिद गरेर आफ्नो कब्जामा लिन्छ। यसको अर्थ उसले आफ्ना ग्राहकको गोपनिय जानकारीको दुरुपयोग गरेर आफैंलाई फाइदा पुर्याउँछ।
यस घटनाको उदाहरण लिई यसलाई बुझौं – एउटा अमेरिकी कम्पनीले भारतीय बजारमा शेयर कारोबार गर्न चाहन्छ। सहजकर्ता रोहित सालगाँवकरलाई यो कुरा थाहा छ कि अब अमेरिकी कम्पनीले कुन शेयर किन्नेवाला छ। सालगाँवकरलाई यो पनि थाहा छ कि अमेरिकी कम्पनीले शेयर बेच्न खोज्दैछ ? उसले कुन मूल्यमा शेयर कारोबार गर्ने योजना बनाएको छ? अनि यो सम्झौता कहिले हुनेछ?
अमेरिकी ग्राहकको यो संवेदनशील जानकारी गोप्य राख्नुको सट्टा, सालगांवकरले केतन पारेखलाई चुहाउँछन् यसपछि, ‘यस खेल’ मा केतन पारेख र उनका सहयोगीको भूमिका शुरू हुन्छ।
मानौं कुनै अमेरिकी कम्पनीले १०० रुपैयाँको मूल्यमा कुनै कम्पनीको एक लाख शेयर किन्न चाहन्छ। त्यसैले यस जानकारीको आधारमा, केतन पारेखको नेटवर्कले यो सम्झौता अघि १०० रुपैयाँ वा सोभन्दा कम मूल्यमा शेयरहरू खरिद गर्दछ। जब अमेरिकी कम्पनीले एक लाख शेयर खरिद गर्ने सम्झौता गर्छ, त्यतिखेर यो शेयरको मूल्य पनि बढ्छ भन्ने सुनिश्चित छ। यो शेयरको मूल्य १०६ रुपैयाँसम्म पुग्यो भने, पारेखको नेटवर्कले अब आफ्नो शेयर बिक्रीमा राख्छ र छोटो समयमै प्रति शेयर ६ रुपैयाँ नाफा कमाएर बाहिरिन्छ।
भारतमा शेयर बजारमा हुने अग्र दाैड गैर कानूनी हो।
केतन पारेखले यसरी बनाए नेटवर्कः
सेबीका अनुसार केतन पारेखको नेटवर्क धेरै व्यापक थियो, जसमा अशोक कुमार पोद्दार लगायत अन्य धेरै व्यक्तिहरू पनि संलग्न थिए। यी व्यक्तिहरू कोलकातास्थित स्टक फर्महरू जिआरडी सेक्युरिटीज र सालासर स्टक ब्रोकिङका लागि काम गर्थे । यी सबै मानिसहरू यसमा संलग्न थिए। उनी टाइगर ग्लोबलले कारोबार गर्ने शेयरहरूमा मात्र कारोबार गर्थे।
यो सम्पूर्ण कारोबार र सञ्जाल धेरै मोबाइल नम्बरहरू मार्फत सञ्चालन भइरहेको थियो। यो खेल शुरूमा केतन पारेखले सञ्चालन गरेका थिए र उनका सहयोगीसँग मिलेर उनले अग्र दौड खेलबाट ६५ करोड भारतीय रुपैयाँभन्दा बढी कमाए।
केतन पारेखको नेटवर्कमा सेबी कसरी पुग्यो?
केतन पारेखको अवैध सञ्जाल पहिचान गर्ने निर्णय सेबीले कुन र कस्तो सूचनाका आधारमा शुरू गर्यो भन्ने विषय सार्वजनिक जानकारीमा आएको छैन।
पारेखको सञ्जाल पहिचान गर्न सजिलो थिएन। हजारौं शेयर कारोबारको अनुसन्धान र तिनीहरूको ढाँचा अवलोकन गरेपछि सेबी यसको सञ्जालको पहिचान गर्न सक्षम भयो। सेबीले शेयर कारोबार गर्ने प्रवृत्तीहरूको सुक्ष्म अवलोकन गर्यो, कल रेकर्डहरू जाँच गर्यो र मोबाइल फोनमा गरिएका सन्देशहरूको आदानप्रदानको पनि अनुगमन गर्यो।
सेबीका अनुसार पारेख १० वटा मोबाइल नम्बर मार्फत पारेख आफ्ना सहयोगीसँग सम्पर्कमा थिए। यी मध्ये कुनै पनि नम्बर पारेखको नाममा थिएनन्। उनी जुन मानिससँग कुरा गर्थे, उनीहरूले केतन पारेखको नाम ज्याक, जोन, बोस, भाभी जस्ता नामले बचाएका थिए…।
अनुसन्धानको क्रममा, सेबीले पत्ता लगायो कि यी मध्ये एउटा नम्बर पारेखकी श्रीमतीको नाममा दर्ता गरिएको थियो । यो नम्बर १० वटा मोबाइल नम्बरहरू मध्ये एक थियो जसको माध्यमबाट पारेख आफ्ना सहयोगीहरूसँग सम्पर्कमा रहने गरेका थिए। सेबीले यी सबै नम्बरहरूबीच फोन सम्पर्क र सूचना आदान प्रदानको श्रृंखलाहरू जोड्न थाल्यो र अन्ततः सञ्जालको पहिचान गरेको दाबी गर्यो।
सेबीको अनुसन्धानको क्रममा अर्को रोचक कुरा पनि बाहिर आयो। संजय तपारिया नामक एक संदिग्धले ‘ज्याक लेटेस्ट’ लाई फेब्रुअरी १४ मा जन्मदिनको शुभकामना दिएका थिए। केतन पारेखको जन्म मिति पनि फेब्रुअरी १५ हो । उनको करदाता परिचय पत्र(प्यान) नम्बर अनुसार कार्डमा रेकर्ड गरिएको छ। यसपछि, केतन पारेखको नेटवर्कमाथि सेबीको शंका बलियो भयो।
सेबीले आफ्नो आदेशमा के भन्यो ?
नियामकले केतन पारेख, रोहित सालगांवकर र अशोक कुमार पोद्दारलाई तत्काल प्रभावबाट सेबीमा दर्ता भएका कुनै पनि मध्यस्थकर्तासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बद्ध हुनबाट प्रतिबन्ध लगाएको छ।
सेबीले केतन पारेख, सालगाउँकर र पोद्दार लगायत २२ संस्थालाई कारण देखाउ सूचना जारी गरेको छ, जसमा पैसा फिर्ता, प्रतिबन्ध र जरिवाना लगाउने जस्ता उपयुक्त निर्देशनहरू किन पारित नगर्ने भनेर सोधिएको छ। नियामकले भनेको छ कि यी एकाइहरूले यो आदेश प्राप्त भएको मितिबाट २१ दिन भित्र सेबी समक्ष आफ्नो जवाफ पेश गर्नुपर्नेछ।
केतन पारेख को हुन् ?
सन् २००० मा भारतीय शेयर बजारमा केतन पारेखको नाम धेरै प्रख्यात थियो। शेयर बजारका व्यापारीहरूले उनको हरेक चालको पर्खाइमा थिए। यो त्यो समय थियो जब उनले कोलकाता स्टक एक्सचेन्जमा आफ्नो अद्वितीय प्रभुत्व स्थापित गरेका थिए। सन् १९९९ देखि २००० सम्म, जब प्रविधिको बबलले सम्पूर्ण विश्वलाई आफ्नो नियन्त्रणमा राखेको थियो, भारतको शेयर बजार पनि उछालको अवधिबाट गुज्रिरहेको थियो।
तर चाँडै नै केतन पारेखको घोटाला बाहिर आयो। सेबीको अनुसन्धानले केतनले बैंक र संस्थापकको कोष प्रयोग गरेर अवैध रूपमा शेयरको मूल्य बढाएको पत्ता लाग्यो। पारेखलाई मार्च २००१ मा पक्राउ गरिएको थियो र ५० दिनभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो।
यसपछि, शेयर बजारका धेरै कमजोरीहरू पनि हटाइयो र व्यापार चक्र एक हप्ताबाट घटाएर एक दिन बनाइयो। बदलाको व्यवसाय बन्द भयो। पारेखलाई १४ वर्षको लागि शेयर बजारबाट प्रतिबन्ध लगाइएको थियो।
नेपालमा कमजोर छ बजार नियामकः
धितो पत्र बजारको नियामकको भूमिकामा रहेक नेपाल धितोपत्र बोर्ड(सेबोन) शेयर बजारमा हुने चलखेलको मुकदर्शक भएर साक्षी बस्ने गरेको अारोप लाग्दै अाएको छ। नेपाल राष्ट्र बैंकको शिघ्र सुधारात्मक कारवाहीमा परेको होस् वा ऋणात्मक शेयरमूल्य भएका वित्तीय कम्पनीको बजार मूल्य नियोजितरूपमा उछाल्ने विरूद्ध सेबोनले कारवाही गर्न चासो देखाउँदैन ।
वित्तीय कम्पनी र विकासको शेयरको बजार मूल्य उचालेर सर्वसाधारणलाई सार्वजनिकरूपमै आह्वान गर्दै लगानी गर्न दुरूत्साहन गरेको व्यापारी दिपेन्द्र अग्रवालजस्ता पात्रले सेबोनलाई गिज्याई रहेको हुन्छ। घोराही सिमेण्टको आइपिओ निष्काशनमा गलत वित्तीय विवरण सार्वजनिक गर्दा होस् वा नक्कली आवेदन दर्ता गराएर आम नागरिकलाई प्रभावित पार्ने काम गरेका सञ्चालक समितिविरूद्ध सेबोनले कुनै कारवाही गर्ने हिम्मत जुटाउन सकेन ।